राजनीति

भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण आवश्यक : मुख्यमन्त्री कँडेल



काठमाडौँ, २५ वैशाख । कर्णली प्रदेशका सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जाजरकोट भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी भएको बताएका छन् ।

आज काठमाडौँमा आयोजित दुई दिने दोस्रो ‘नेपाल सेल्टर फोरम’ को छलफलका क्रममा बोल्दै उनले मनसुन नजिकिदै गर्दा पनि कर्णाली प्रदेशका भूकम्पपीडित पालमुनी नै बस्न बाध्यता भएको र अस्थायी आवास निर्माण छिटो हुनुपर्नेमा जोड दिए । 

उनले भने, “केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्यमा चाँडोभन्दा चाँडो अस्थायी आवास निर्माण अघि बढाउन आवश्यक भइसकेको छ”, ।

अहिले देशभर विभिन्न विपद्का घटना भइरहेको भन्दै उनले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए । “देशका विभिन्न स्थानमा डढेलोको समस्या छ, बर्खामा बाढीको जोखिम पनि उत्तिकै छ । बर्खा सुरु हुँदा पनि भूकम्पपीडितले राहत पाएका छैनन् । के अब बर्खामा चुहिने पालमुनी बसेरै कर्णालीका भूकम्पपीडितले रात बिताउनुपर्ने हो ?”, उनले भने ।