Banner News

एमालेलाई मन्त्री, प्रधानमन्त्री पदको चिन्ता छैन: उपमहासचिव ज्ञवाली



सुर्खेत, २६ वैशाख । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई मन्त्री, प्रधानमन्त्री पदको चिन्ता नरहेको बताएका छन् । 

स्थानीय विकास विभागको आयोजना सुर्खेतमा सुरु भएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि प्रदेशस्तरीय प्रशिक्षण शिविरलाई सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीतिमा देश बनाउने र आफू मात्र बन्ने प्रवृत्ति देखिएको बताए । 

‘हामीलाई मन्त्रालय, प्रधानमन्त्रीको चिन्ता छैन । देश बनाउने, सुशासन, विकास र समृद्धिको अभियान कसरी अगाडि बढाउने भन्ने चासो छ,’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै ज्ञवालीले भने, ‘तर केही नेताहरूमा रात दिन, सपना बिपनामा पनि रोजेको मन्त्रालय र आफू प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर घुर्क्याउँदै हिँडेका छन् ।’ 

नेता ज्ञवालीले एमालेविरुद्धको घेराबन्दी अन्त्य गरी मुलुकलाई गठबन्धनबाट मुक्त गर्न सफल भएको बताए । मुलुकको राष्ट्रिय हितमा भएका शृङ्खलाबद्ध प्रहारलाई रोक्न वर्तमान सत्ता समीकरण सफल हुँदै गएको उनको दाबी छ । समाजवादको आधार निर्माण गर्न बलियो राष्ट्रिय शक्तिको आवश्यकता औँल्याउँदै उनले त्यसका लागि स्थानीय तहका जनप्रतिनिधिले पार्टीको घोषणापत्र र कार्यदिशाको कार्यान्वयन गर्न ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।