Banner News

अर्थतन्त्रको अवस्थाबारे चेम्बरले गरायो अध्यक्ष ओलीको ध्यानाकर्षण



काठमाडौँ, २९ वैशाख । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले एमाले अध्यक्ष केपी शर्मा शर्मालाई भेटेर अर्थतन्त्रको वर्तमान अवस्थाबारे ध्यानाकर्षण गराएको छ ।

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठ तथा चेम्बरका पदाधिकारी टोलीले भक्तपुरस्थित बालकोट पुगेर ओलीसँग भेटवार्ता गरेको हो ।

अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्नुपर्ने विषयमा चेम्बरले एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको हो । अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशतसम्मको गिरावट आएको चेम्बरका अध्यक्ष अग्रवालले बताए । शिथिल अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्ने अध्यक्ष अग्रवालको भनाइ छ । वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान एवं निजी क्षेत्रको मनोबल उकास्नुपर्ने बेला आएको अध्यक्ष अग्रवालले बताए ।

आयकर ऐन ०५८ का प्रायः प्रावधान स्पष्ट नहुँदा अन्तःशुल्क, भन्सार आदिमा पछिल्लो समय भूतप्रभावी दायित्व देखापरेको भन्दै अन्त्य गर्न चेम्बरले अध्यक्ष ओलीको ध्यानाकर्षणसमेत गराएको छ । चेम्बर अध्यक्ष अग्रवालले सहकारी क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि अविलम्ब पहल गर्न पनि अध्यक्ष ओलीसमक्ष आग्रह गरे । ‘सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायी पीडित भएका छन्,’ चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सहकारी क्षेत्रको समस्या अविलम्ब समाधान हुनुपर्दछ ।’

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा एमाले अध्यक्ष ओलीले राष्ट्रिय हितलाई सर्वोपरि ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताए । निजी क्षेत्रको समस्या समाधानका लागि आफूले पहल गर्ने अध्यक्ष ओलीले जनाए ।