अर्थ

नेप्से परिसूचक २४.३९ अंकले बढ्यो



काठमाडौँ, ३१ वैशाख ।‌ धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज २४.३९ अंकले बढेर बन्द भएको छ । नेप्से १.२३ प्रतिशतले वृद्धि भएर १९९८.८९ विन्दुमा बन्द भएको हो ।

यस दिन तीन अर्ब ४० करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भयो । बढेको बजारमा कम सेयर मूल्य भएका बैंकप्रति लगानीकर्ता आकर्षित भएका छन् । लगानीकर्ता वाणिज्य बैंकमा आकर्षित हुँदा उक्त समूहको परिसूचक सर्वाधिक बढेको छ ।

वाणिज्य बैंक समूहको परिसूचक ३.२१ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त वित्तीय संस्था र माण्डु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।


कारोबारमा आएका मध्ये १४८ कम्पनीको सेयर मूल्य बढेको छ । ८५ कम्पनीको सेयर मूल्य घटेको छ ।