Banner News

१०६ मेगावाटको जगदुल्लामा जुट्यो वित्तीय स्रोत



काठमाडौँ, ४ जेठ । डोल्पामा निर्माणको चरणमा रहेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनालाई आर्थिक स्रोत सुनिश्चित भएको छ । आयोजनामा नबिल बैंकको नेतृत्वमा अन्य बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । विद्युत् आयोजनाका प्रवर्द्धक जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र नबिल बैंकले बुधबार ऋण सम्झौता गरे ।

साथै नबिलले नेतृत्व गरेका अन्य बैंक तथा वित्तीय संस्थाहरूबीच पनि सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरणको नेपालको पानी जनताको लागनी भन्ने नाराअन्तर्गत कर्णालीको जगदुल्ला नदीमा बन्न लागेको उक्त आयोजना नेपाली नागरिक मात्रको लगानीमा पहिलो पटक बन्न लागेको दाबी गरिएको छ ।

२३ अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजनाका लागि नबिलले नेतृत्व गरेको समूहले १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय सापकोटाले जनाए । सोहीअनुसार ऋण स्वीकृत भएको सापकोटाले बताए । नबिल बैंकले ४ अर्ब ४० करोड, कर्मचारी सञ्चय कोषले ४ अर्ब, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेस्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति भएको छ । पाॅच वर्षमा पूरा गर्ने लक्ष्यअनुसार आयोजना निर्माणको चरणमा प्रवेश गर्ने उनको भनाइ छ । ऋण सम्झौतापत्रमा कम्पनीका सीईओ सापकोटा र बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरे ।

आयोजनामा थानीय, प्रदेश र प्रसारण लाइन प्रभावित, आयोजनाका कर्मचारीले सेयरमार्फत ४९ प्रतिशत लगानी गर्नेछन् । निर्माणको लागतमध्ये उत्पादन कम्पनीको २६, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को १०, विद्युत् प्राधिकरणको ९, कर्णाली प्रदेश सरकारको ५, मुड्केचुला र जगदुल्ला गाउँपालिकाको १ प्रतिशत गरी ५१ प्रतिशत सेयर रहने सापकोटाले जनाए । सर्वसाधारणको ३३, आयोजना प्रभावितको १०, प्रसारण लाइन प्रभावितको ३ र आयोजनाका कर्मचारीको ३ गरी ४९ प्रतिशत सेयर रहनेछ । कान्तिपुरबाट