राजनीति

वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरूको समस्या समाधान गर्न सरकारलाई देउवाको आग्रह



काठमाडौँ, ५ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरूको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् ।

आज काठमाडौँमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको १२ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले नेपालमा वैदेशिक रोजगारी महत्त्वपूर्ण रहेको बताए । उनले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमिकहरूले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमिकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे । उनले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमिकहरूको समस्या समाधानमा आवश्यक भूमिका खेल्नुपर्ने बताए । सभापति देउवाले श्रमिकहरू ठगिनु र दुःख पाउन नहुने समेत बताए ।  

‘नेपालमा वैदेशिक रोजगार महत्त्वपूर्ण कुरा हो । एकातिर विदेशमा रोजगार गर्न नेपालीले पाउँछन् । मैले त्यहाँ नेपालीहरू ठगिएका र दुःख पाएका कुराहरू थाहा पाएँ, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ’ उनले भने, ‘रोजगारीमा गएका साथीहरू ठगिनु भएन । दुःख पाउनु भएन, जेलमा थुनिएका छन्, धेरै दुःख पाएका छन् । यो वैदेशिक रोजगार एसोसिएसनले लिड रोल लिनुपर्छ ।’