राजनीति

संसदमा भइरहेका घटनाहरू सुखद् छैनन् : अध्यक्ष नेपाल



काठमाडौँ, ८ जेठ ।  नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदमा भइरहेको घटना दु:खद भएको बताएका छन् ।

आज बिहान जनकपुरमा समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सांसदमा घटिरहेका घटना वार्ता र संवादबाट समाधान गर्नु पर्ने बताए ।

“यो सरकारमा हामी सामेल छौँ, यो सहकार्यलाई अघि बढाउने सन्दर्भमा सम्बन्धित् सबै घटक सदस्यहरूको माझमा राम्रो विश्वास, राम्रो सहयोग, समझदारी, राम्रो सहकार्य हुनुपर्दछ, हामी देशका सबै शक्तिहरूसँग सहमतिका साथ अघि बढ्न चाहन्छौँ । संसद्‌मा जुन किसिमका घटनाहरू भइरहेका छन्, ति घटनाहरू वास्तवमा सुखद् छैनन् । त्यसैले वार्ता र संवाद गर्ने कुरामा पनि समाधान खोज्नुपर्छ । अरु स्वार्थमा त्यसलाई मोड्ने काम गर्नु हुँदैन । निजी हितमा सोच्नु हुँदैन । हिजो एक किसिमको अवस्था थियो, अवस्थामा परिवर्तन भएको छ, हामीले विभिन्न पार्टीका नेताहरूसँग एक ढंगले संवाद कायम गरेका थियौँ । सहकार्य गर्दै आएका छौँ । अर्को ढंगले जानुपर्ने हो कि भन्ने अवस्था पनि बनेको छ । अब यी सबै कुराका सन्दर्भमा कुनै पनि पार्टी फुटोस् भन्ने पक्षमा छैनौँ,” उनले भने ।