Banner News

हिमाल, जनता र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सुरु



काठमाडौँ, ९ जेठ । जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रम आजदेखि काठमाडौँको चन्द्रागिरिमा सुरु भएको छ । दुई दिनसम्म चल्ने यो कार्यक्रमलाई ‘हिमाल, मानव र जलवायु परिवर्तन : विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ नाम दिइएको छ ।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका छन् । संवादमा नेपालसहित पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाज, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागिता छ ।

कार्यक्रममा सहभागी हुन बंगलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरी, भुटानका कृषि तथा पशुपक्षी मन्त्री ल्योन्पो योन्टेनसहित २५ देशका प्रतिनिधिहरु काठमाडौँ आएका छन् । उदघाटनपछि विभिन्न सत्रमा विज्ञहरुको प्रस्तुती र सहभागीहरुबीच छलफल हुने कार्यक्रम छ । पहिलो सत्रमा ‘जलवायु विज्ञान र पर्वतीय तथ्य र तथ्यांक’को विषयवस्तुमा जलवायु परिवर्तनको प्रभाव, सङ्कटासन्नता र जोखिम, हिमाली क्षेत्रमा भइरहेको वातावरणीय सङ्कटको विषयमा प्रस्तुती तथा छलफल हुने छ ।

दोस्रो सत्रमा ‘प्रकृतिमा आधारित पर्वतीय उत्थानशीलताका उपायहरू’मा केन्द्रित भएर छलफल हुने छ । यो सत्रमा जनता, जलवायु नीति र समृद्धिका उपायहरू, स्थानीय नेतृत्वमा जलवायु अनुकूलन र जलवायु न्याय, लैंगिक समानता र स्थानीय समुदायका आवाज समावेश गरिने छ ।