अर्थ

सहकारीपीडितद्वारा फेरि आन्दोलन घोषणा



काठमाडौँ, १० जेठ । मुलुकभरका सहकारीपीडितले शुक्रबारदेखि तेस्रो चरणको आन्दोलन गर्ने भएका छन् । सरकारले यसअघिका सम्झौता कार्यान्वयन नगरेको भन्दै पीडितको संगठन सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जेठ ११ देखि आन्दोलन थाल्ने भएको हो ।पीडितको पैसा फिर्ता गर्ने सम्बन्धमा यसअघि भएका कुनै पनि सम्झौता कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्न लागिएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले बताए ।

‘जेठ ११ को बिहान ११ बजे माइतीघर मण्डलाबाट आन्दोलन सुरु हुनेछ, र्‍यालीपछि कोणसभा गरेर रिले अनशन सुरु गर्छौं,’ उनले भने, ‘सहकारीपीडितको माग पूरा नभएसम्म आन्दोलन देशैभर सशक्त रूपमा अगाडि बढ्छ । नेपालगन्ज, चितवन र धरानमा पनि एकै पटक सुरु हुन्छ ।’

सबै दललाई सहकारी बचतकर्ताको पक्षमा आवाज उठाइदिन र समस्या समाधानका लागि पहल गर्न पनि पत्रकार सम्मेलनमा अध्यक्ष केसीले आग्रह गरे । ‘हामीले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, अहिलेका मन्त्री बलराम अधिकारीसँग सम्झौता गर्‍यौं । तर कसैले पनि हाम्रो माग पूरा गरेनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू हामीलाई न्याय चाहियो,’ उनले भने ।

सहकारीपीडितले न्याय नपाए ०८४ को निर्वाचन बहिष्कार हुने उनको भनाइ छ । ‘तपाईंहरू मिसन ०८४ भन्नुस्, हामी मिसन ०८४ बहिष्कार गर्न अगाडि बढ्दै छौं, सहकारीपीडितको माग पूरा भएन भने ०८४ मा तपाईंहरूको लेभल पनि हाम्रो लेभलमा आउँछ, त्यतिखेर हामी देखाउँछौं जनताको तागत,’ उनले भने, ‘हामीहरूले घर–घरबाट तपाईंहरूलाई लखेट्छौं, सहकारीपीडितले न्याय पाएनन् भने ०८४ मा चुनाव हुँदैन ।’

अध्यक्ष केसीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ गरिएको हो भने आफूहरूलाई सह्य नहुने चेतावनी दिए । ‘सहकारीपीडितको आवाज उठाएकै भरमा पक्राउ गरिएको हो भने घोर भर्त्सना गर्छौं, तर गल्ती गरेको हो भने छुटकारा पाउन हुँदैन,’ उनले भने । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका उपाध्यक्ष पुरुषोत्तम कार्की, कोषाध्यक्ष देवकुमार श्रेष्ठ वरिष्ठ सल्लाहकार भीमकुमार श्रेष्ठलगायतले सरकारले सहकारीपीडितको पक्षमा काम गर्न नसकेको बताए । कान्तिपुरबाट