Banner News

सिरोहिया पक्राउ पर्दा सञ्चारको हक खोसिँदैन : अध्यक्ष ओली



काठमाडौँ, १० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुलाई सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने बताएका छन् ।

आज झापामा एक सडक उद्घाटनका कार्यक्रममा उनले सञ्चार माध्यमलाई प्रतिक्रिया दिदै उनी कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ परेको बताए ।

उनले भने, ‘किन यो समाचार प्रकाशित गर्‍यो, किन यस्तो बोल्यो भन्ने विषय त होइन, विषय अर्कै छ, त्यस सम्बन्धमा फौजदारी कुरा होला । यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने …अनि कोही मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदा कराउन नपर्ने, हल्लिन नपर्ने, डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त एक जना मिडिया हाउसका मान्छे गिरफ्दार हुँदा ?’

उनले सिरोहिया पक्राउ सही हो वा गलत हो भन्नेबारे र उनलाई पक्राउ गर्ने समय ठीक भयो कि भएन भन्नेबारे भने टिप्पणी नगर्ने बताए । तर उनी पक्राउ पर्दा लोकतन्त्र खतरामा नपर्ने, सञ्चारका हकहरु नखोसिने भन्दै कसैले पनि गलत व्याख्या गर्न नहुने ओलीको धारणा छ ।