अर्थ

कृषिमा लगानी दशक घोषणा



काठमाडौँ, १५ जेठ । कृषि तथा पशुपन्छी क्षेत्रमा ‘कृषिमा लगानी दशक घोषणा’ गरिएको छ । वि. सं. २०८१ देखि २०९१ सम्म लगानी दशक घोषणा गरिएको हो । 

आज अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट मार्फत सो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि सरकारले २ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि कृषि सुधार कार्यक्रम अन्तर्गत सरकारले उक्त रकम विनियोजन गरेको हो ।

त्यस्तै अर्थमन्त्री पुनले कृषि उपज धितोमा राखेर ऋण लिन सकिने व्यवस्था मिलाउने बताएका छन् । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै प्रतिफल दिन लामो समय लाग्ने कृषि तथा फलफूल व्यवसायमा उत्पादन पूर्वको कर्जाको व्याजमा अनुदानको व्यवस्था मिलाएको बताएका हुन् । 

यस्तै स्थानीय तह, प्रदेश र निजी क्षेत्रको सहकार्यमा सबै प्रदेशमा गाई भैँसी पालन स्रोत केन्द्र विकास गरिने उनले बताए ।