अर्थ

पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट



काठमाडौँ, १५ जेठ । सरकारले पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यसबारे जानकारी दिएका हुन् । 

बजेट भाषणमा विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उल्लेख गरिएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । सन् २०२३ का लागि १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सफलता मिलेसँगै उत्साहित भएको सरकारले आउँदो वर्ष १६ लाखको महत्वकांक्षी लक्ष्य राखेको हो । 

त्यस्तै सरकारले नेपालमा विवाह गर्न आउने पर्यटकलाई आकर्षित गर्न कार्यक्रम ल्याएको छ । अर्थमन्त्री पुनले नेपालमा वैवाहिक समारोह गर्न आउने विदेशी पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिने बताए । उनले रामजानकी विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबको रूपमा प्रवर्द्धन गरिने जानकारी दिए ।