राजनीति

आठ हजारमाथिका हिमाल आरोहणपछि मात्रै सगरमाथा चढ्न पाउने मापदण्ड बनाऔँ : मुख्यमन्त्री कार्की



काठमाडौँ, १६ जेठ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले हिमालहरूको संरक्षणमा आवश्यक पहलकदमी हुन नसकेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित ७१औँ सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको उल्लेख गर्दै अहिले हिमनदीहरु क्रमशः सुक्ने, हिमाल कालो हुँदै जाने गरेको बताए । 

आरोहणलाई नियमन गर्न जरुरी रहेको उनको भनाइ छ । मुख्यमन्त्री कार्कीले आरोहणको मापदण्ड व्यवस्थित बनाउन जरुरी रहेको भन्दै  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाइ आठ हजार मिटरमाथिको हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्ने बताए । 

उनले भने, “जलवायु परिवर्तनको चपेटामा आज हाम्रो देश पनि अछुतो रहेन । हामीले वन क्षेत्रको संरक्षणमा उल्लेख्य उपलब्धि हासिल गरेका छौँ । यसले हाम्रो पर्यावरणलाई धेरै हदसम्म राहत दिएको छ । तर, हामीसँग भएका हिमालहरूका सन्दर्भमा जे जति पहलकदमी लिनुपर्ने हो, त्यो गर्न सकिरहेका छैनौँ । फलस्वरुप अहिले हिउँ नदीहरू क्रमशः सुक्ने अवस्थामा छन् । हिमाल काला हुँदै गएका छन् । यसको संरक्षणमा धेरै उपाय होलान् । प्राकृतिक रूपमा जस्तो अवस्थामा छ, त्यस्तै कायम राख्ने हो भने एउटै मात्र उपाय हो आराम दिने, पूर्ण रुपमा प्रयोगमा ल्याउने, आरोहण बन्द गर्ने भनेको पनि होइन, आरोहणलाई नियमन गर्न जरुरी छ । यसको मापदण्डलाई व्यवस्थित बनाउन जरुरी छ । अहिलेको ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था छ । अब आठ हजार मिटर माथिको हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्छ । त्यसो हुँदा हाम्रा आठ हजार मिटर माथिका हिमालहरूको संख्या बढ्छ । जनताको अर्थिक अवस्थामा पनि राम्रो हुन्छ,” ।