अर्थ

१६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्छाैँ : मन्त्री तामाङ



काठमाडौँ, १६ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सरकारले लिएको आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने दाबी गरेका छन् । 

आज काठमाडौँमा आयोजित ७१औँ सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लक्ष्य पूरा गर्न पर्वतारोहणसँग सम्बन्धित् विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायी लगायत सबैसँग समन्वय गरेर सहकार्य गरेर एक आपसमा विश्वासको वातावरण सिर्जना गरी जानुपर्ने आवश्यकता रहेको बताए । 

उनले भने, “विश्वभर तापक्रम वृद्धि लगायत हिमाली क्षेत्रमा बढ्दो मानवीय प्रवृत्तिका वातावरणमा नकारात्मक प्रभावको सन्तुलन कायम गर्नका लागि हामीले सगरमाथा आधार शिविरको समग्र अध्ययनको लागि एक समिति गठन गरेका छौँ । मलाई आशा एवं विश्वास छ, समितिले अब चाँडै उपयुक्त निकाससहित नेपाल सरकारलाई प्रतिवेदन पेस गर्नेछ । नेपाल सरकारको बजेटमा नै आगामी वर्ष नेपालमा १६ लाख पर्यटकको आगमनको लक्ष्य निर्धारण गरिएको छ । यो लक्ष्य पूरा गर्नका निमित्त पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायीहरू सबैसँग समन्वय गरेर सहकार्य गरेर एक आपसमा विश्वासको वातावरण सिर्जना गरेर सरकारले राखेको लक्ष्य पूरा गर्न लागि पर्नेछौँ । त्यो लक्ष्य पूर्ण रूपमा सफल हुनेछ,” ।