अर्थ

बजेटको मार्गनिर्देशन हुबहु कार्यान्वयन गरिए व्यवसायीको मनोबल उच्च हुन्छ : अध्यक्ष ढकाल 



काठमाडौँ, १७ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको मार्गनिर्देशन हुबहु कार्यान्वयन गरिए व्यवसायीको मनोबल उच्च हुने बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बजेटको कार्यान्वयन चुनौतीपूर्ण हुने र यसतर्फ सबैले ध्यान दिनुपर्ने उल्लेख गरे । बजेटले निजी क्षेत्रको मागलाई समेट्दै अगाडि बढ्ने विषय राम्रो भएको बताए ।

उनले भने, “दोस्रो चरणको आर्थिक सुधारको कुरा निजी क्षेत्रले चाहेको थियो, बजेटले सम्बोधन गर्‍यो । बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समावेश गर्ने भनेको छ, यो स्वागतयोग्य छ,” “सरकारले कार्यान्वयन गर्नुपर्छ । लगानी कम्पनीको अवधारणा निजी क्षेत्रले उठाएको थियो, बजेटमा समावेश भयो, यो खुसीको कुरा हो ।”

बजेटमा ससाना छरिएर रहेका पुँजीलाई लगानीमा परिणत गर्नेलगायत कार्यक्रम निजी क्षेत्रको सुझावानुसार नै प्राथमिकतामा परेको अध्यक्ष ढकालले सुनाए । पुराना बजेटका कतिपय कार्यक्रम र नीतिलाई नयाँमा नसमेटिनु दुःखद पक्ष भएको उनको भनाइ छ ।