अर्थ

प्रतिक्रियाहरूबाट म सर्प्राइजमा छु : मन्त्री पुन



काठमाडौँ, १७ जेठ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने बित्तिकै आएका प्रतिक्रियाहरूबाट आफू सर्प्राइज भएको बताएका छन् ।

आज नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले बजेट सन्तुलन र व्यवहारिक आएको भन्दै निजी क्षेत्र अरू विज्ञ तथा राजनीति पार्टी र तिनका नेताहरूले समेत तारिफ गरेकाले आफू साँच्चै सर्प्राइज भएको बताए । 

उनले भने, ‘बजेट के हुने हो ? सांसदबाटै आउने हो कि अध्यादेशमा जाने हो ? ठुलो चिन्ता थियो । तर, सांसदबाटै ल्याउन पाइयो । खुसी कुरो हो । बजेट सांसदभन्दा बाहिरबाट ल्याउने कुरा राम्रो थिएन । यसमा प्रधानमन्त्री ज्यूले ठुलो कसरत गर्नुभयो र वातावरण सहज भयो । यसका लागि म प्रधानमन्त्री ज्यूलाई र सम्पूर्ण राजनीतिक पार्टीहरूलाई धन्यवाद दिन चाहन्छु’ ।

उनले बजेटले केही करका दर वृद्धि गरेकाले स्वार्थ समूह निजी क्षेत्रले मन दुखाए पनि सकेसम्म सन्तुलित र सर्वस्वीकार्य बजेट बनाएको दाबी गरे ।