समाचार

आजको मौसम



काठमाडौँ, १८ जेठ । नेपालमा स्थानीय र  पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम  मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी भूभागका  एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।