शैक्षिक

गर्मी बढेपछि धनगढीका विद्यालयमा सात दिन बिदा



काठमाण्डौ,१८ जेठ । कैलालीलगायत तराईका जिल्लामा अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले जेठ १८ देखि २४ सम्म विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै धनगढीमा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले जानकारी दिए ।

धनगढी उपमहानगरपालिकासँगै अन्य पालिकाले पनि बिदा दिएका छन् । गोदावरी नगरपालिका, टीकापुर नगरपालिका र लम्की चुहा नगरपालिकाले गर्मी बिदा दिएका छन् ।

जानकी र जोशीपुर गाउँपालिकाका विद्यालय भने बिहान सञ्चालनमा छन् । कैलाली बहुमुखी क्याम्पसले असार ३ सम्म बिदा दिएको छ ।

केही दिनयता धनगढीमा अत्यधिक गर्मी बढेको छ । धनगढीको तापक्रम बिहीबार ४४ दशमलव १ डिग्री मापन गरिएको थियो ।