राजनीति

ट्राफिक नियमबारे राम्रो जानकारी गराएर मात्र लाइसेन्स दिनुपर्छ : मन्त्री चौधरी



काठमाडौँ, १९ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी चालक अनुमतिपत्र वितरण गर्दा नै ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताएकी छन् । 

शनिबार सामुदायिक प्रहरी सेवा केन्द्र गट्ठाघरको २० औँ स्थापना दिवसको अवसरमा सामुदायिक दर्पण स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् ।

‘सवारी दुर्घटनालाई कम गर्नका निम्ति लाइसेन्स दिँदा नै उनीहरूलाई ट्राफिक नियमका विषयमा धेरै नै प्रशिक्षित गर्न आवश्यक छ’, मन्त्री चौधरीले भनिन्, ‘कहाँ कसरी चलाउने ? कति छेउसम्म जाने ? कुन तर्फबाट क्रस गर्ने, ओभरटेक कसरी गर्ने ? भन्ने विषयमा एकदमै कन्ट्रोल गर्न आवश्यक छ ।’

ट्राफिक प्रहरीले मापसे चेकजाँच गर्दै आएको कार्यको प्रशंसा गर्दै उनले नागरिकलाई असर नपर्ने गरी सहजीकरण गर्न आवश्यक रहेको समेत बताइन् । मन्त्री चौधरीले भनिन्– ‘कानुन विपरीत कसैले काम गरेको छ भने त्यसलाई कानुन बमोजिम कारबाही गर्न आवश्यक छ । तर नागरिकलाई पीडा दिनका निम्ति हाम्रा कार्यहरू हुनुहुँदैन ।’

समाजमा अझै पनि प्रहरी भनेपछि डराउने प्रवृत्ति रहेको भन्दै उनले प्रहरीलाई नागरिकको सेवा गर्ने राष्ट्र सेवकको रूपमा बुझ्न आवश्यक रहेको बताइन् ।