राजनीति

मुख्यमन्त्रीका लागि दाबी पेसः जनमतका यादवलाई मुख्यमन्त्री बनाउने तयारी




काठमाडौ २० जेठ । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलले आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका छन् ।नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादीलगायतका सात दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले जानकारी दिए ।

नेता यादवका अनुसार मुख्यमन्त्रीमा जनमत पार्टीका महेश यादवलाई मुख्यमन्त्री रूपमा अघि सार्ने तयारी छ । हामी आजै प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठनका लागि ६३ जना सांसदको हस्ताक्षरसहित जाँदैछौँ’, यादवले रातोपाटीसँग भने, ‘एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,लोसपा,सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति र जनमतका सांसदको हस्ताक्षर रहन्छ ।

यादवले लोसपा समेत नयाँ सरकार गठनको पक्षमा रहेको दाबी गरे पनि लोसपाले नयाँ समीकरणमा जाने या नजाने भन्ने निर्णय गरिसेको छैन । यो प्रदेशमा लोसपाका नौ जना सांसद छन् ।
यसअघि केन्द्रमा नयाँ समीकरण बनेसँगै एमाले र माओवादी जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारबाट फिर्ता भएको थियो । आइतबारै नेकपा एकीकृत समाजवादीले पनि मन्त्री फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने तयारी गरेको छ । एमाले र माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका थिए । त्यसअघि नै सात दल नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखकोमा जान लागेका हुन् ।१०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि ५४ सांसदको आवश्यकता पर्छ ।