अर्थ

अर्थमन्त्रीले बजेट निर्माणमा सत्ता साझेदार दलसँग छलफल गर्न भ्याउनुभएन : विष्णु पौडेल



काठमाडौँ, २० जेठ । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग छलफल गरेको भए अझै राम्रो बजेट ल्याउन सकिने बताएका छन् । 

आजको प्रतिनिधि सभा बैठकमा बजेटमाथि सुरु भएको छलफलमा बोल्दै पूर्वअथृमन्त्री पौडेलले बजेट निर्माणका क्रममा आफ्नो पार्टीसँग छलफल नगरेको बताए । 

उनले भने, ‘अर्थमन्त्रीज्यू बजेट निर्माणका क्रममा यति व्यस्त हुनुभयो कि सत्ता साझेदार दलहरूसँग पनि छलफल गर्न भ्याउनुभएन’, ‘अहिलेको बजेट राम्रो हुँदाहुँदै पनि छलफल गरेको भए अझ राम्रो हुने थियो ।’

उनले ६ प्रतिशतको आर्थिक वृद्धि, बजेटमा कृषिमा लगानी दशक लगायतका विषय राम्रा भएपनि कृषिको बजेट घटेको भन्दै त्यसमा अर्थमन्त्रीले ध्यान दिने विश्वास व्यक्त गरे । छलफलका क्रममा नेता पौडेलले बजेट निर्माणमा अर्थमन्त्रीले जोखिम उठाएको र सो जोखिम समाधान गर्न पनि तत्पर रहनुलाई सकारात्मक रूपमा लिएको बताए । 

‘बजेट महत्वाकांक्षी होइन उच्च आकांक्षा राखेको छ । अर्थमन्त्रीले चुनौती लिनुभएको छ, समाधान पनि गर्नुहोला’, पौडेलले बजेटलाई सन्तुलित भन्दै अघि भने, ‘चर्चा र आशंकाकै बिच १८ खर्ब ६० अर्बको बजेट ल्याउनुभएको छ । यसको लागि स्रोतको प्रबन्ध गर्ने अभिभारा सजिलो छैन । तर, पनि सीमा निर्धारण गरेको छ । बजेटका सबै लक्ष्यहरू उच्च छ ।’