अर्थ

सन्तुलित र संयमित बजेट आएको छ: अर्थमन्त्री पुन



काठमाडौँ, २० जेठ । अर्थमन्त्री वर्षमान पुनले सरकारले जिम्मेवारीपूर्वक बजेट ल्याएको बताएका छन् ।

आज प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्दै अर्थमन्त्री पुनले सन्तुलित र संयमित बजेट आएको भन्दै निजी क्षेत्रले समेत स्वागत गरेको बताएका हुन् । 

उनले भने, ‘बजेट बनाउँदा स्रोतको सङ्कुचन महसुस गरेका थियौँ । राष्ट्रिय अर्थतन्त्रमा सङ्कुचन देखिएको अवस्थामा चालु आर्थिक वर्षमा ३.९ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले प्रस्तुत गरेको छ । गत वर्ष १.९ प्रतिशतको आर्थिक वृद्धि थियो । त्यो भन्दा यो राम्रो हो । यस अर्थमा मुलुकको अर्थतन्त्र लयमा फर्किँदै गएको छ । सुखद अवस्था हो तर पनि मुलुकको अर्थतन्त्र पूरै लयमा आइसकेको छैन । सरकारले यसमा मेहनत गरिरहेको छ । युवाहरूको चिन्ता र चासो बजेटले देशभित्रै भविष्य खोज्न सकिन्छ । त्यो सरकारले प्रयत्न गर्छ भन्ने जिज्ञासा रहेको अवस्था थियो । जनताले बजेटमा ठुलो अपेक्षा गरेका थिए । निजी क्षेत्रले बजेटले आशा जगाउन सक्छ की सक्दैन । निजी क्षेत्रको मनोबल उकास्न सक्छ की सक्दैन भनेर खबरदारी गरेको थियो । बजेटको दबाब थियो । त्यही दबाबमा मुलुकको अर्थतन्त्र अहिले पनि रहेको छ । सन्तुलित र संयमित बजेट आएको भन्दै निजी क्षेत्रले स्वागत गरेको छ । बजेट प्रस्तुत पछि सत्तापक्ष र प्रतिपक्षका सदस्यहरूबाट समेत स्रोतको सङ्कुचनबिच पनि बजेट सन्तुलित र बस्तुवादी आयो भनेको सुन्दा पाउँदा सरकारले जिम्मेवारी पूर्वक बजेट प्रस्तुत गरेको महसुस गरेको छु ।’