राजनीति

असहाय उपचारका लागि ५२ अस्पतालमा ३७४ शय्या सुनिश्चित



काठमाडौँ, २२ जेठ । काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका ३७४ शय्या सुनिश्चित भएको छ । कामपाले रहेको निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार अस्पतालले उक्त शय्या विपन्न र असायका लागि छुट्याएका हुन् ।   

कामपा स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार विसं २०८० फागुनबाट सुरु गरिएको उक्त सेवाबाट अहिलेसम्मा ७० बिरामी लाभान्वित भइसकेका छन् । यसरी सेवा लिन आउनेमा काठमाडौं उपत्यकाको भन्दा पनि उपत्यका बाहिरका नागरिक बढी रहेका उनले जानकारी दिए । कानुनी व्यवस्थालाई निजी अस्पतालले अटेर गरेपछि कामपाले निःशुल्क स्वास्थ्य उपचारसम्बन्धी कार्यविधि, २०८० पास गरेर उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।