राजनीति

पाँच सरकारी सेवामा राष्ट्रिय परिचयपत्र जोडिँदै



काठमाडौँ, २२ जेठ । सरकारले वितरण गर्दै आएको राष्ट्रिय परिचयपत्रलाई अब केही सार्वजनिक निकायसँग आबद्ध गराइने भएको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्रलाई अन्य निकायसँग जोड्ने तयारी भइरहेको बताएको हो ।

विभिन्न सरकारी सेवासँग अन्तरसम्बन्धित गराएर हरेक निकायमा पटकपटक एउटै विवरण उपलब्ध गराउनुपर्ने झन्झट अन्त्य गर्ने उद्देश्यले २०७५ सालदेखि यसको वितरण सुरु भएको थियो ।

अब भने चाँडै नै अन्य सरकारी सेवासँग राष्ट्रिय परिचयपत्रलाई आबद्ध गरिन लागेको हो । स्वास्थ्य बिमा बोर्ड, व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) कार्ड, सामाजिक सुरक्षा प्रणाली र व्यक्तिगत घटना दर्तामा राष्ट्रिय परिचयपत्र जोडिन लागेको हो । यसका साथै सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को विवरणसमेत परिचयपत्रबाटै थाहा हुने गरी विभागले प्रणाली बनाएको छ ।


आगामी साउन १ गतेदेखि पूर्णरूपमा नै यी सेवाका लागि परिचयपत्र प्रयोग हुने बताइएको छ ।