Banner News

यो बजेटले आशा जगाउने काम गर्न सक्दैन : अध्यक्ष लिङ्देन



काठमाडौँ, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बजेटले आशा जगाउन नसक्ने बताएका छन् ।

आज प्रतिनिधि सभाको आउँदो वर्षको बजेटमाथिको छलफलमा बोल्दै उनले बजेटले त्यस्तो छलाङ मार्न नसकिने बताए ।

उनले भने, “बजेट गिजोल्नुभएको छैन । सकेसम्म सबैको चित्त बुझाउने, कार्यकर्ताको लागि ठाउँ राख्नुभएको छ,” “अर्थतन्त्रको जे अवस्था हो । यो बजेटले हामीलाई छलाङ मार्न, हामी सुध्रियौँ, देश सुधारतर्फ गयो भन्ने आशा जगाउने काम चाहिँ गर्न सक्दैन ।” 

उनले हरेक वर्ष ऋणमा पर्दा एउटा परिवारमा त छलफल हुने भन्दै बजेट बनाउने कुरामा छलफल नगरिएको बताए । उनले फरक ढंगले सोचेर कार्यक्रम ल्याउन नसकेको बताए । सार्वजनिक खर्च कसरी घटाउनेतर्फ ध्यान नपुगेको उनको भनाइ छ । विद्युतीय सवारीमा लगाएको कर फिर्ता लिए राम्रो हुने बताए । 

लिङ्देनले निजी क्षेत्रका रुग्ण उद्योग चलाउन चाहे बाटो खुलाएको भए उचित हुने बताए । द्वन्द्वका बेला बन्द भएको उद्योग चलाउन सरकारले सामान्य प्रक्रियामा पनि उदारता नदेखाएको टिप्पणी गरे । उनले सागसब्जीमा विषादी जाँच गर्ने विषय बजेटमा किन समावेश गरिएको भनि प्रश्न गरे ।