Banner News

१८३ स्टार्टअपलाई सहुलियत कर्जा सुनिश्चित



काठमाडौँ, २६ जेठ । दुई वर्षदेखि ‘हबिबी चाय’ आउटलेट सञ्चालन गरिरहेका कलंकीका नितिन कोइरालाले स्टार्टअप कर्जा पाउने भएका छन् । गत माघमा कर्जाका लागि आवेदन दिएका उनले अन्ततः सहुलियत कर्जा पाउने भएका हुन् । इजिप्टको स्वाद अनि शैलीमा बनाइने चियालाई नै ‘हबिबी चाय’ नाम दिएर काठमाडौंमा दुईवटा आउटलेट सञ्चालन गरिरहेका नितिनको समूहले अब पाइने कर्जा पनि अन्य आउटलेट सञ्चालनमा खर्च गर्ने योजना बनाएको छ ।

आफ्नै आउटलेट मात्र नभई बिहे, भोज, पार्टीमार्फत ‘हबिबी चाय’ खुवाइरहेका नितिन बानेश्वर, बौद्ध र मंगलबजारमा नयाँ आउटलेट खोल्न ऋणको उपयोग गर्ने बताउँछन् । ‘हामी ऋण पाउँछौं कि पाउन्नौं भन्नेमै थियौं,’ उनले भने, ‘अन्तिम सूचीमा परेपछि अब ऋण पाउने भयौं, हबिबी चायलाई अझै पनि स्थानीयस्तरसम्म पुर्‍याउने कोसिस गर्छौं ।’

चार वर्षदेखि काठमाडौंको नागार्जुनमा ‘स्युचाटार दुना–टपरी हाउस’ सञ्चालन गरिरहेकी सुशीला आचार्यले पनि ‘स्टार्टअप उद्यम कर्जा’ पाउने भएकी छन् । तराईबाट ल्याइने सालका पातबाट पूजापाठ, विवाह, व्रतबन्धलगायतमा प्रयोग गरिने दुना–टपरी आफ्नै घरमा बनाइरहेकी आचार्यले ऋण पाएपछि छुट्टै ठाउँमा उद्योग नै बनाउने जनाइन् । ‘हामीले घरमै काम गरिरहेका थियौं, पैसा नहुँदा सीमित कामदार राखेर एउटा फ्ल्याटमा टपरी बनाइरहेका थियौं,’ उनले भनिन्, ‘अब घरनजिकै भवन बनाएर यसलाई उद्योगकै रूपमा स्थापित गर्छौं । कामदार पनि थप्छौं ।’

अब ‘हबिबी चाय’, ‘स्युचाटार दुना टपरी हाउस’ जस्ता १८३ वटा परियोजनाले स्टार्टअप उद्यम कर्जा पाउने भएका हुन् । उनीहरूलाई १९ करोड ४० लाख रुपैयाँ स्टार्टअप उद्यम कर्जा प्रवाह गरिने औद्योगिक विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले जनाए । प्रतिष्ठानले शुक्रबार सूचना निकाल्दै कर्जा सिफारिस गरिएका परियोजनाको सूची सार्वजनिक गरेको छ । स्टार्टअप उद्यम कर्जा प्रवाहसम्बन्धी कार्यक्रमअन्तर्गत योग्य सूचीमा परेका परियोजनाको प्रस्तुतीकरण र कर्जा मूल्यांकनबाट प्राप्त अंकभारको प्राथमिकताका आधारमा कर्जा प्रवाहको सिफारिस गरिएको प्रतिष्ठानको सूचनामा उल्लेख छ । सरकारले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई परियोजना/व्यवसाय विस्तार र दिगो रूपमा सञ्चालन गर्न स्टार्टअप कर्जा दिने घोषणा गरेको छ ।

प्रतिष्ठानले माघ १९ देखि फागुन १० सम्म स्टार्टअप उद्यम कर्जाका लागि मागेको प्रस्तावमा १ हजार ६ सय ५८ परियोजनाले प्रस्ताव दर्ता गराएका थिए । प्रतिष्ठानले चैत २ मा सूचना निकाल्दै स्टार्टअप उद्यम कर्जाका लागि दर्ता भएको १ हजार ६ सय ५८ परियोजनाको विवरण सार्वजनिक गरेको थियो । वैशाख ९ मा प्रतिष्ठानले पहिलो चरणमा योग्य प्रस्तावकको सूचीमा ३ सय ९४ परियोजना छानेको थियो । छनोटमध्ये पनि ३३५ वटा परियोजना प्रस्तावकले मात्र प्रस्तुतीकरण गरेको गुप्ताको भनाइ छ ।

‘प्रस्तुतीकरणमा देखाइएका प्रस्तावकहरूको फोटो, भिडियो, वित्तीय तथा अन्य विवरण, प्रस्तुतीकरण र प्रश्नोत्तरलाई आधार मानेर मूल्यांकन समितिले मूल्याकंन गर्‍यो,’ उनले भने, ‘मूल्यांकन समितिको औसत अंकभार र कर्जा मूल्यांकन गरी पाएको अंकभार जोडेर कुल अंकभार निकालियो, कुल अंकभारलाई आधार लिई ५० प्रतिशतभन्दा बढी अंकभार पाउने प्रस्तावकको प्राथमिकताका आधारमा अन्तिम सूची छनोट गरिएको हो ।’

दर्ता भई सात वर्ष नाघेको, नवीन प्रविधि एवं सिर्जनशील सोच प्रयोग नगरिएको र कुल चुक्ता पुँजी १० लाख रुपैयाँभन्दा बढी भएका परियोजना योग्य सूचीमा नपरेको प्रतिष्ठानले जनाएको छ । कार्यविधिअनुसार कुल कारोबार २ करोडभन्दा बढी भएको र स्थिर पुँजी (घरजग्गाको मूल्यबाहेक) २ करोडभन्दा बढी भएका परियोजना योग्य सूचीमा परेका थिएनन् । गत वैशाख १७ देखि सुरु भएको परियोजनाको प्रस्तुतीकरण जेठ २ सम्म चलेको थियो । प्रस्तुतीकरणमा छुटेकाका लागि सूचना निकालेर प्रतिष्ठानले जेठ ६ सम्म समय दिएको थियो । यद्यपि ३९८ परियोजनामध्ये ३३५ ले मात्र प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरण र ऋण मूल्यांकन सकिएपछि प्रतिष्ठानले अन्तिम सूची सार्वजनिक गरेको बताएको छ ।

प्रतिष्ठानको मूल्यांकन तथा सिफारिस समितिमा स्टार्टअप तथा उद्यमशीलताको क्षेत्रमा काम गरेका विज्ञ र राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधि संलग्न थिए । समितिले स्टार्टअप उद्यमका लागि तोकिएको मापदण्ड, उत्पादित वस्तु वा सेवा बिक्रीको बजार सम्भावना, परियोजनामा प्रयोग हुने कच्चा पदार्थको स्रोत, आवश्यक पूर्वाधारको उपलब्धता, जोखिम व्यवस्थापनका लागि अवलम्बन गरिएका उपाय, व्यावसायिक प्रस्तावको प्रस्तुतीकरण र ऋण मूल्यांकनका आधारमा अंक दिइएको थियो  । सोही अंकका आधारमा ऋण लिन योग्य प्रस्तावकको अन्तिम नामावली सार्वजनिक गरिएको जनाइएको छ ।

सूचना जारी भएको ३० दिनभित्र तोकिएको बैंक शाखा कार्यालयमा सम्पर्क नगरेको खण्डमा परियोजना प्रस्ताव र सिफारिस स्वतः रद्द हुने प्रतिष्ठानका कार्यकारी निर्देशक गुप्ताको भनाइ छ । ‘योग्य र्स्टाटअप उद्यमीले प्रक्रिया पुर्‍याए आगामी साताभित्रै ऋण पाउनेछन्,’ उनले भने, ‘प्रतिष्ठानले तोकेको बैंकको शाखामा तोकिएको कागजपत्रसहित सहुलियत कर्जाका लागि आधिकारिक व्यक्ति जानुपर्नेछ ।’ काठमाडौंकाका लागि थापाथली, ललितपुरका लागि लगनखेल र भक्तपुरका लागि राष्ट्रिय वाणिज्य बैंकको शाखा थिमिमा जानुपर्नेछ । अन्य जिल्लाको हकमा शाखा कार्यालय छिट्टै तोकिने प्रतिष्ठानले बताएको छ ।

परियोजना प्रस्तावकहरूले व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यानभ्याट दर्ताको सक्कल प्रमाणपत्र, नागरिकता, ०७९/०८० को करचुक्ता, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको ३ प्रति फोटो, फर्म वा कम्पनीको छाप लिएर तोकिएको बैंक शाखा कार्यालयमा जानुपर्ने प्रतिष्ठानले जनाएको छ । कर्जा सूचना केन्द्रको प्रतिवेदनमा यसअघि सहुलियत कर्जा लिएको भेटिए परियोजना प्रस्ताव र सिफारिस रद्द हुने प्रतिष्ठानको सूचनामा उल्लेख छ ।

चालु आर्थिक वर्षको बजेटमा स्टार्टअप व्यवसायलाई १ प्रतिशत सहुलियत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने घोषणा गरिएको छ । यद्यपि तत्काललाई ३ प्रतिशत ब्याजदरमा अधिकतम २० लाख रुपैयाँसम्म कर्जा दिइने भएको हो । चालु आर्थिक वर्षमा स्टार्टअप कर्जाका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । कार्यविधिमा स्टार्टअप उद्यमका रूपमा सञ्चालन गर्न सकिने उद्यमका १६ वटा क्षेत्र तोकिएको छ । स्टार्टअप उद्यमीहरूलाई कर्जा दिन गत माघ २४ मा प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारी गरिएको थियो । प्रतिष्ठानको सिफारिसमा राष्ट्रिय वाणिज्य बैंकले स्टार्टअप कर्जा दिनेछ ।

बैंकले कर्जा प्रवाह गर्दा बढीमा ५ लाखसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाखसम्मका लागि दुई किस्ता र त्यसभन्दा माथि २५ लाखसम्मको हकमा तीन किस्तामा कर्जा रकम उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ । ऋण पाउनेमा ४९ प्रतिशत महिला र ५१ प्रतिशत पुरुष उद्यमी रहेको प्रतिष्ठानको भनाइ छ । ‘स्टार्टअप कर्जा पाउनेमा सबैभन्दा बढी ४७ प्रतिशत वाग्मतीका छन् । साथै सुदूरपश्चिमका १४ र कर्णालीका ११ प्रतिशत उद्यमी छन्,’ गुप्ताले भने, ‘लुम्बिनीका ७.५, गण्डकीका ५.५ र मधेशका ६ प्रतिशत उद्यमी छन् ।’

कर्जा लगानीका लागि वित्तीय स्रोतअन्तर्गत कर्जाका लागि वित्तीय स्रोत समझदारीपत्र अनुसारको स्टार्टअप उद्यम कर्जा प्रदान गर्न र निक्षेप तथा कर्जा सुरक्षणका लागि प्रतिष्ठानले बैंकलाई कर्जा सुरक्षणका लागि हाललाई २४ करोड २५ लाख रकम उपलब्ध गराउने समझदारीपत्रमा उल्लेख छ । प्रतिष्ठानका अनुसार बैंकको खातामा १५ करोड पठाइसकिएको छ । बाँकी १० करोड रुपैयाँ आइतबार बैंक खातामा पठाइने प्रतिष्ठानका कार्यकारी निर्देशक गुप्ताले जनाए । बैंकले लिने कर्जा र ब्याजदर सेवा शुल्क कार्यविधिबमोजिम हुनेछ । बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना नै धितोका रूपमा राख्नेछ । त्यस्तो व्यवसाय वा परियोजनाको बिमा उद्यमी स्वयंले गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

सरकारले पटक–पटक नवीन व्यवसाय गरिरहेका र गर्न चाहनेलाई कर्जा, बीउ पुँजी उपलब्ध गराउने भनेर दशकयता आश्वासन दिँदै आएको छ । तर कार्यान्वयनमा आउन सकेको थिएन । चालु आर्थिक वर्ष भने स्टार्टअप उद्यमीले कर्जा पाउने निश्चित भएको हो । गत आर्थिक वर्ष पनि उद्योग विभागले स्टार्टअप कर्जा लिन इच्छुकलाई परियोजना प्रस्ताव पेस गर्न सूचना जारी गरेको थियो । तर प्रक्रियामा रहँदै आर्थिक वर्ष सकिएकाले कार्यान्वयन भएको थिएन । कान्तिपुर