राजनीति

भारतमा नेपालप्रति विश्वास बढेको पाएँ: प्रधानमन्त्री दाहाल



नयाँदिल्ली, २९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालप्रति भारतको विश्वास बढेको आफूले महसुस गरेको बताएका छन् । नेपालको आन्तरिक राजनीतिक समीकरणमा फेरबदल भए पनि भारत आफूसँगको सम्बन्धमा फरक नआउने विश्वासमा देखिन थालेको दाहालको भनाइ छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आएका उनले सोमबार बिहान नयाँदिल्लीमा नेपाली पत्रकारसँग कुरा गर्दै उक्त धारणा राखेका हुन् ।

दाहाल गत फागुनमा कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग नयाँ सत्ता गठबन्धन गर्न पुगेका थिए । भ्रमण क्रममा नयाँ गठबन्धनले पनि भारतसँग उस्तै सम्बन्ध राख्न चाहेको सन्देश दिएको दाहालले बताए । वामपन्थी गठबन्धनसँग सहज महसुस नगरेको भारतको आशंका चिर्ने प्रयत्नका रूपमा दाहालको भ्रमणलाई हेरिएको छ । उनले आन्तरिक राजनीतिमा के कुरा हुन्छ, त्यसले नेपाल–भारत सम्बन्धमा केही फरक पार्दैन र पार्नु पनि नहुने मान्यता राख्दै आएको बताए ।

‘अहिले हामी जुन समीकरणमा छौं, त्यो बन्ने बेलामै मैले भारतीय नेताहरूलाई प्रस्टसँग भनेको थिएँ, आन्तरिक राजनीतिका कारणले समीकरणमा हेरफेर हुन्छन् । तर, त्यसले परराष्ट्र नीतिमा वा भारतसँगको सम्बन्धमा कुनै फरक पर्दैन,’ उनले भने, ‘द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गरेर लानुपर्छ । आर्थिक विषयमा मिलेर जाुनपर्छ । आपसी सहकार्य बढाएर लैजानुपर्छ भनेको थिएँ ।’

उनले भारतमा एकथरी नेता तथा एजेन्सीहरू नेपालमा राजनीतिक समीकरण परिवर्तनसँगै नेपाल–भारत सम्बन्ध पनि तलमाथि हुन्छ भन्ने धारणा बनाउँछन्, त्यो गलत भएको बताए । ‘मलाई लाग्छ उहाँहरूले नेपाल कन्सिस्टेन्ट पोलिसीमा रहेको देख्नु भएको छ,’ दाहालले भने, ‘समीकरण जे भए पनि, छिमेकसँगको नीतिमा वा भारतसँगको नीतिमा नेपालमा फरक आउँदो रहनेछ भन्नेमा अहिले अलिक विश्वास भएको जस्तो महसुस गरेको छु ।’

प्रधानमन्त्री दाहालले आइतबार तेस्रो कार्यकालका लागि नवनियुक्त प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । ‘नेपाललाई सहयोग गर्नुपर्छ, सम्बन्धलाई सुदृढ गर्नुपर्छ, नेपालको व्यापार घाटा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा भारतीय नेताहरू सकारात्मक बन्दै गएको महसुस गरेको छुृ,’ प्रधानमन्त्री दाहालले भने, ‘सकारात्मक वातावरण बनेको पाएको छु । आपसी सहयोग बढाउने विषयमा नेपालको तर्फबाट कुनै समस्या छैन ।’

भेटघाटमा नेपाल–भारतबीचका कतिपय जल्दाबल्दा मुद्दाका बारेमा मोदीसँगको भेटवार्तामा कुरा गर्ने मौका मिलेको दाहालले बताए । मुख्यतः गतवर्ष आफू भारत भ्रमणमा आएका बेला भएका सहमति र समझदारीको कार्यान्वयनमा तीव्रता दिने विषयमा आफ्नो जोड रहेको उनले सुनाए । त्यसमा मोदी पनि सकारात्मक रहेको उनको भनाइ थियो ।

नेपाल–भारतबीचमा रहेका द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय पार्ने विषयमा पनि आफूले कुरा राखेको दाहालले बताए । ‘बोर्डर, ट्रेड, ट्रान्जिटका सबै संयन्त्रलाई सक्रिय पारेर वार्ता र संवादलाई तीव्रता दिनुपर्ने भन्ने आग्रह गरें,’ दाहालले भने, ‘यसमा मोदीजी पनि उत्साहित हुँदै गर्ने हो भन्ने कुरा गर्नुभयो ।’ त्यस्तै भेटमा तेस्रो पञ्चेश्वर परियोजना र अरुणसँग सम्बन्धित कुराकानी भएको उनले बताए । पञ्चेश्वरलाई तीव्रता दिएर परियोजना टुंग्याउन पाए दुवै देशलाई फाइदा हुने दृष्टिकोणबाट कुराकानी भएको दाहालले बताए । नेपालमा कृषि उत्पादन बढाउन भारतसँग कसरी सिक्ने र नेपालको उत्पादनलाई भारतमा कसरी पठाउने भन्ने विषयमा पनि दाहालले मोदीसँग चर्चा गरेको उल्लेख गरे ।

त्यस्तै, विदेशमन्त्री हुनु केही घण्टाअघि एस. जयशंकर दाहाललाई भेट्न सोमबार अपराह्न उनी बसेको होटल ताज प्यालेसमा पुगेका थिए । जयशंकरले नयाँ सरकारले नेपालसँगको सम्बन्धलाई अझ विशेष महत्त्व दिने र थाती रहेका विषयहरू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख डा.सुरेन्द्र थापाले बताए ।

द्विपक्षीय संयन्त्रलाई सक्रिय पारेर संवाद बढाएर विवादित विषयमा समाधान खोज्ने साथै पञ्चेश्वर परियोजनालाई गति दिनुपर्ने, नेपालले एयर रूट पाउनुपर्ने लगायतका विषयहरू प्रधानमन्त्रीले उठाएका थिए । स्रोतका अनुसार सार्कलाई सक्रिय पार्नु पर्ने विषयमा पनि दाहाल र जयंशकरबीच छलफल भएको थियो । त्यसअघि सोमबार बिहान दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गरेका थिए । कान्तिपुर