Banner News

निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ : खड्का



काठमाडौं, १८ माघ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएर बाटो खुल्ला गर्नुपर्ने बताए ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै केन्द्रिय सदस्य खड्काले भने,‘प्रधानमन्त्रीले यही माघभित्रै निर्वाचनको मिति घोषणा गर्नुपर्छ, यदि गर्न सक्नुभएन भने कुर्सीमा बसिरहनुको कुनै अर्थ हुँदैन, राजिनामा दिएर बाटो खोलिदिनुपर्छ, सहज रुपमा राजिनामा दिनुपर्छ ।’

खड्काले भने,‘माघभित्रै निर्वाचनको मिति घोषणा गरिएमात्रै बैशाखमा स्थानीय तहको निर्वाचन हुन्छ, यदि माघमा पनि निर्वाचनको मिति घोषणा नगर्ने हो भने जेठमा चुनाव हुन सक्दैन, त्यसैले यो सरकार बैशाखसम्म मात्रै हो, कांग्रेससँग सम्झौता भएको छ ।’ उनले प्रधानमन्त्रीले चुनाव गराउन नसक्ने हो भने समय व्यतित गरेर पदमा बस्नुको कुनै अर्थ नहुने जिकिर गरे ।

खड्काले भने,‘यो सरकार नै निश्चित उद्देश्य लिएर बोकेर गठन भएको हो, त्यही पूरा नगर्ने हो भने के अर्थ हुन्छ ? त्यसैले उनले निर्वाचन नगर्ने हो भने सहज रुपमा राजिनामा दिएर मुलुकलाई निकास दिनुपर्छ, अर्को चूनौति लिन तयार हुने नेता प्रधानमन्त्री बन्नुहुन्छ ।’

नेता खड्काले मधेसी मोर्चालेपनि संशोधन प्रस्ताव प्रक्रियामा गएर पारित भएपनि वा नभएपनि अब चुनावमा भाग लिनुपर्ने बताए।‘प्रमुख प्रतिपक्षी दल एमालेले पनि प्रस्ताव प्रक्रियामा लैजान अवरोध गर्नुहुँदैन, र प्रस्ताव पास नभएपनि मोर्चा चुनावमा जानुपर्छ’ उनले अघि भने,‘प्रक्रियामा लैजानबाट यसलाई अड्काएर राख्नुहुँदैन्, यसले गर्दा निर्वाचनको मिति घोषणा गर्नपनि गारो हुन्छ ।’

उनले सत्तारुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रस्ताव पारित गराउनको लागि अधिकतम प्रयास गर्ने जिकिर गर्दै भने,‘हामी यो प्रस्ताव पारित गराउनको लागि अधिकतम प्रयास गर्छौं, तर पारित भएन वा जे भएपनि यसको नतिजालाई स्विकार गर्दै चुनावमा जानुपर्छ ।’

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोले संविधान संशोधन नगरी चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने र त्यसको विरुद्धमा आन्दोलनमा जाने चेतावनी दिएका छ ।

उनले भने,‘विभेदकारी संविधान संशोधन नभईकन चुनावको मिति घोषणा गरे, हामी त्यसलाई कुनै हालतमापनि मान्दैनौं, प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरेर हामी आन्दोलनमा जान्छौं, सरकारसँगको सम्बन्धविच्छेद गर्छों ।’ महतोले जनताका मागहरु पूरा नगरीकन जबरजस्ती चुनाव गर्न खोजिए त्यो कदापि हुन नदिने चेतावनी दिए । ‘अब नो लटरपटर, पहिला परिमार्जनसहित संशोधन पास हुनुपर्छ, उनले थपे ।’

महतोले परिवर्तनका एजेण्डाहरु सडकबाट आएका उल्लेख गर्दै भने,‘यो देशमा परिवर्तनका एजेण्डाहरु सडकबाट आएका हुन्, संघीयता र गणतन्त्र कसको एजेण्डा हुन्, सडकको मत लिएको होईन र ?’

उनले अहिलेका प्रमुख दलहरु अन्तरिम संविधानबाट पछि हटेको आरोप लगाए । महतोले थपे,‘अब बेइमानी चल्दैन, यो चुनाव÷सुनाव देखाएर केही हुनेवाला छैन, चुनावको नाम जोडेर हामीलाई कसैलेपनि लोकतन्त्रको पाठ नपढाए हुन्छ?’ उनले प्रमुख दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले मधेशी जनताको अधिकारमा डकैती गरेको समेत आरोप लगाए ।

महतोले संविधान संशोधनमार्फत जनताका अधिकार स्थापित गर्ने कुरामा एमालेले धेरै बेईमानी गरिरहेको आरोप लगाउँदै भने,‘एमालेले धेरै बेईमानी गर्यो क्या, तर यसको हिसाबकिताब जनताले दिन्छन्, त्यसैको तयारी स्वरुम अहिले एमालेमुक्त मधेस बनाउने कुरा पनि भैरहेको छ क्या ।’ यद्धपी उनले कांग्रेस र माओवादी केन्द्रको भने बुद्धि आएको तर्क गरे ।

स्थानीय तहको पूर्नसंरचना भद्रगोल रहेको कुरा नुवाकोटको आन्दोलनले नै पुष्टि गरिसकेको उनको दाबी थियो। उनले भने,‘हेर्दै जानुहोस्, यस्तै हो भने नुवाकोटको जस्तो घट्ना ७५ जिल्लामै दोहोरिन्छ, नुवाकोटमा त गोली नै चल्यो, अब त्यो गोली कहाँ कहाँ चलाउने हो ?’ उनले पूर्नसंरचना गर्दापनि पूर्वाग्रही राखेको आरोप लगाए ।

उनले राजा महेन्द्रले महेन्द्र राजमार्ग निर्माण गर्दा मधेशमा षड्यन्त्र गरेजस्तै अहिले रेलवेको नाममा अर्को नयाँ ढंगको षडयन्त्र गर्न लागिएको भन्दै हाईवे र सिमानाकोवीचबाट रेलवे मार्गको डिपीआर गर्नुपर्ने माँग गरे। उनले थपे,‘यस्तै विभेद गरिरहने हो भने विष्फोट हुन्छ ।’