शैक्षिक

क्यान्सरका कारण एक जेहेन्दार विद्यार्थी रहेनन्



 

अछाम, २१ माघ । क्यान्सरका कारण अछाम जिल्लामा एक बालकको ज्यान गएको छ । मंगलसैन नगरपालिका वडा नम्बर ६ ठुलासैनका कुस्माखर भण्डारीका १० बर्षीय छोरा चक्र भण्डारीको क्यान्सरका कारण ज्यान गएको हो ।

सामान्य लडेर बाँया खुट्टाको घुँडामा चोट लागेका उनको पछि त्यही कारणबाट क्यान्सर भएको उनको परिवारले जनाएको छ । बाँया खुट्टाका घुँडामा चोट लागेर पछि उपचारको लागि अस्पताल लिँदा चिकित्सकले क्यान्सर भएको बताएका थिए । त्यसपछि भारतको पुनामा उपचार गरी खुट्टा नै काट्नु परेको थियो ।

२ बर्ष अघि बिराम लागेको र भारतमा लामो उपचार गरी लाखौं रुपंैया खर्च भएपछि निको नभएपछि उनलाई पछिल्लो समय भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार गराईरहेको थियो । खुट्टाबाट क्यान्सर शरीरमा सरिसकेको र उपचार सम्भव नहुने बताएपछि उनी विगत २ महिनादेखि घरमै रहेका थिए ।

उनका बुवाको पनि दुई ढाई बर्ष पहिले क्यान्सरकै कारण ज्यान गएको थियो । मृतक मालिका आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए । पढाईमा राम्रो रहेका उनी मेहनती र जेहेन्दार रहेको विद्यालयले जनाएको छ । विद्यार्थीको निधनमा विद्यालयले आज मौनधारण सहित विद्यालय विदा गरेको विद्यालयका प्रधानाध्यापक भक्तराज ढुंगानाले बताए। मृतकका आमा र ३ दिदीबहिनी छन् ।