स्वास्थ्य

शिक्षण अस्पतालमा डाक्टरको ‘चेन्जिङ रुम’बाट ल्यापटप चोरी



काठमाडौं,९ फागुन । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एक डाक्टरको झोला चोरी भएको छ । केही दिन अघि डा प्रदिप थापाको ल्यापटप सहितको झोला चोरी भएको थियो । चोरी गर्ने व्यक्ति बालाजुबाट पक्राउ परेका छन्।

सिराहाका विवेक सिंहले डाथापाको झोला चोरी गरको हुन् । चेन्जिङ रुमबाट झोला चोरी भएको हो । महानगरीय प्रहरी वृत्त बालाजुले चोरी गर्ने सिंहलाई बिहिबार नै बालाजुबाट पक्राउ गरेको हो ।

फोहोर कपडा लगाएर हिँडेका सिंहले भिआईपी झोला बोकेको देखेपछि शंका लागेर सोधपुछ गर्दा उनले चोरी गरेको खुलेको हो । डा थापाको झोलामा ल्यापटप, मोबाइल, कपडा तथा विभिन्न कागजपत्र थिए ।

पक्राउ परेका सिंह लागूऔषध दुव्र्यसनी भएको बालाजु वृत्तका डिएसपी सन्तोष तामाङले बताए । पक्राउ पर्दा उनले कुन अस्पतालबाट झोला चोरी गरेको बताउन सकेका थिएनन् । महाराजगंज प्रहरीसँग बुझ्दा शिक्षण अस्पतालबाट झोला चोरी भएको थाहा पाएपछि प्रहरीले डा थापाको झोला चोरी भएको पत्ता लगाएको हो । उक्त चोरीपछि त्रिवि शिक्षण अस्पतालमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।