राजनीति

मधेसको घटना दुःखद र निन्दनीयः कांग्रेस नेता पौडेल



दमौली, २४ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सप्तरीको राजविराजमा भएको घटना अत्यन्तै दुःखद् र निन्दनीय भएको बताएका छन ।

रिपोर्टर्स क्लब नेपाल तनहुँमा आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले मधेसमा आन्दोलनकारीको ज्यान जाने गरी भएको घटना अत्यन्तै दुःखदायी रहेको जनाउँदै आउँदा दिनमा यस्ता घटना दोहोरिन नहुने बताए ।

मुलुकभित्र देखिएका विद्यमान समस्या समाधान आवश्यक परे राष्ट्रिय सहमतिको सरकार गठन गरेर भए पनि गर्नुपर्ने नेता पौडलले बताए ।

आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई सो घटनाले प्रभाव पार्न नहुने पौडेलको भनाइ थियो ।

मधेसको घटनाले स्थिति बिगैदैँ गएकाले सरकारलाई संयम हुन उनले सुझाव दिए । मधेसको घटनालाई लिएर एमालेले तीन दिनका लागि कार्यक्रम स्थगन गर्नु सकारात्मक पक्ष भएको पनि नेता पौडेलले बताए ।