Banner News

अराजनीतिक र आपराधिक गतिविधि तत्काल रोक्न मोर्चालाई एमालेको चेतावनीः अभियान २७ गते हेटौडाबाट पूर्ववत सुचारु



काठमाण्डौ,२५ फागुन । सप्तरीको घटनापछि मधेसका सप्तरी र सिराह लयागतका जिल्लाहरुमाएमालेका पार्टी कार्यालय, नेता–कार्यकर्ता तथा सर्वसाधारणका घरहरु,छानीछानी तोडफोड गर्ने, सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्ने जस्ता आपराधिक गतिविधि तत्काल रोक्ने एमालेले मोर्चालाई चेतावनी दिएको छ ।
एमाले महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले एमालेका नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्ने जस्ता अमानवीय र अराजनीतिक कामहरुको निन्दा गर्दै भनिएको छ, ‘हाम्रो पार्टी त्यस्ता अलोकतान्त्रिक र आपराधिक क्रियाकलापहरु अबिलम्ब रोक्न चेतावनी दिन चाहन्छ ।’ आफ्ना नेता–कार्यकर्ता र पार्टी कार्यालयहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसग माग गरेको छ ।
बैठकमा , सप्तरीको राजविराजमा मधेसी मोर्चाका नाममा अवाञ्छित तत्वहरुद्वारा सिर्जित आपराधिक घटना र त्यसपछि उत्पन्न परिस्थितिको संवेदनशीलतालाई ख्याल गर्दै तीन दिनका लागि स्थगित भएको एमालेद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय अभियान पर्सी फागुन २७ गते हेटौंडाबाट पूर्ववत सुचारु हुने पनि जनाइएको छ । एमालेले आव्हान गरेको छ, ‘यसअघि निर्धारण भएको कार्यतालिका अनुसार बा“की सबै कार्यक्रम आयोजना हुने भएकाले त्यसका लागि सक्रियतापूर्वक क्रियाशील हुन, व्यापक जनसहभागिता जुटाउन र मेची–महाकाली यात्रामा आ–आफ्ना सवारी साधनसहित उपस्थित हुन मातहत कमिटी र सदस्यहरुलाई निर्देशन दिइएको छ ।’

सप्तरीमा पार्टीले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा गरिएको आततायी हस्तक्षेपका विरुद्धमा कार्यकर्ता पंक्तिलाई स्पष्ट पार्न, आपराधिक घटनाको भण्डाफोर गर्न र घटनाको वास्तविकता जानकारी गराउन फागुन २६ गते बिहीबार एमालेले काठमाडौंमा बृहत् भेलाको समेत आयोजना गरेको छ । यसैगरी, राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानका बारेमा जानकारी दिन देशभरका सबै जिल्लाहरुमा जिल्ला आमसभा आयोजना गर्ने निर्णय गरेको छ ।

त्यसरी नै बैठकमले प्रदेश नम्बर २ स्तरीय विस्तारित अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गर्नुका साथै प्रदेश नम्बर २ अन्तर्गतका जिल्लाहरुमा कार्यकर्ता भेलाका साथै जिल्लास्तरीय सभाहरु आफ्नो जिल्लामा गर्ने निर्णय समेत गरेको छ ।