Banner News

तराई-मधेसका जमिनदार एमालेविरुद्ध खनिएका छन्ः भारतले सानोतिनो कुरामा पनि हस्तक्षेप गर्ने स्थिति छ



लालबाबु पण्डित

नेकपा एमालेले २१ फागुनबाट मधेसकेन्द्रित मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गरिरहेको छ । राष्ट्रिय एकतामा खलल पार्ने प्रयास परास्त गर्दै राष्ट्रिय एकता सुदृढ गर्नु यो अभियानको मूल उद्देश्य हो । पूर्वी झापाको काँकडभिट्टाबाट सुरु भएको यो अभियान कञ्चनपुरको महेन्द्रनगर र धनगढी हुँदै ५ चैतमा सुर्खेतमा आमसभा आयोजना भएपछि सम्पन्न हुँदै छ ।

यस अभियानमा हामीले तराईमा पर्ने पूर्व–पश्चिम राजमार्गमा ३० हजारदेखि एक लाखसम्मको डेढ दर्जन ठूला आमसभा र दुई दर्जनभन्दा बढी स्थानमा कोणसभा र सांस्कृतिक सभा सम्पन्न गर्यौँ‍ ।

कतिपय मानिसलाई लागिरहेको छ, एमालेले किन यतिवेलै राष्ट्रिय अभियान सञ्चालन गर्यो‍ रु त्यसो त कतिपयले त अभियानकै कारण सप्तरीमा चारजनाको ज्यान गएको बौद्धिक बिलाससहितको विश्लेषणसमेत गर्ने गरेका छन् ।

राष्ट्रिय एकता कमजोर बनाउँदै तराई र पहाडबीच दुई राष्ट्रियताको मान्यता अघि सार्नेहरूको पक्षपोषण गर्नेहरूले त्यस्तो विश्लेषण गर्नु कुनै नौलो होइन । यी सबै बुझेरै खासगरी तराई–मधेसका मुठीभर जमिनदारहरूको प्रतिनिधित्व गर्ने ‘मधेसी मोर्चा’ले बोकेको खतरनाक मान्यताको भण्डाफोर गर्ने, मधेसलाई अलग राष्ट्रका रूपमा परिभाषित गर्दै राष्ट्र विखण्डन गर्न खोज्नेहरूविरुद्ध नै अभियान लक्षित गरेका हौँ ।

त्यसैले मधेसका अधिकांश न्यायप्रेमी जनता हामीविरुद्ध होइन, कथित दुई राष्ट्रियताको तर्कविरुद्ध गोलबन्द हुँदै गएका छन् । प्रमुख दलले अन्तिम घडीमा संविधान जारी हुन नदिने षड्यन्त्र परास्त गर्न जसरी एकताबद्ध भए, त्यसैगरी संविधान जारी गरेलगत्तै तराईमा नयाँ संविधानका विशेषतामाथि प्रकाश पार्ने, संविधान कार्यान्वयन र राष्ट्रिय एकताका पक्षमा मिलेर अभियान चलाउन सकेको भए राष्ट्रियता विखण्डन गर्ने प्रयास पहिल्यै पराजित भइसक्थ्यो ।

यद्यपि, त्यस्तो मान्यतालाई निर्वाचनमार्फत परास्त गर्ने मनस्थितिका साथ तराईका जनता शान्ति, राष्ट्रिय एकता र समृद्धिका पक्षमा गोलबन्द हुँदै गएका छन् । तराईकेन्द्रित हाम्रो अभियानको मूल सन्देश पनि यही नै हो ।

बाह्य चलखेल र एमालेविरोधी भ्रम

संविधान कार्यान्वयनका सन्दर्भमा अवरोध गर्दै मधेसी मोर्चाले जनताविरुद्ध भ्रम छर्ने प्रयास गरिरहेको छ । त्यो अवरोधलाई हटाएर हामी भ्रम चिर्न प्रयासरत छौँ । जाति–जाति, भूगोल–भूगोलबीचको ऐतिहासिक अन्योन्याश्रित सम्बन्धलाई साम्प्रदायिकताको रूप दिँदै बिथोल्ने प्रयास भइरहेको छ ।

त्यसैले अभियानमार्फत सामाजिक सद्भाव बलियो रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छौँ । नेपाललाई सधैँ अस्थिरतामा राखेर निहित स्वार्थ पूरा गरिरहने कतिपय बाह्य शक्तिको चलखेलविरुद्धसमेत हाम्रो अभियान लक्षित छ ।

संविधान कार्यान्वयन गर्दै स्थानीय तह, प्रदेश र केन्द्रीय संसद्को निर्वाचनमार्फत शान्ति, स्थिरता र विकासतर्फ मुलुकलाई अघि बढाउनु राष्ट्रिय शक्तिको प्रमुख दायित्व हो ।

अरू शक्ति द्विविधाग्रस्त अवस्थामा रहे पनि हामी त्यसनिम्ति प्रयासरत छौँ । एमालेलाई तराई–मधेसविरोधी, जनजातिविरोधीका रूपमा चित्रित गर्दै भ्रम छरेर आपसी बेमेल र वैमनश्य, कटुता बढाउन खोजिएको छ । त्यसलाई पनि अभियानमार्फत चिर्न चाहिरहेका छौँ ।

तराईको गरिबी र राजनीतिक स्वार्थ

लामो समयदेखि तराईका जनतालाई नियोजित तरिकाले विभाजित गरेर पछौटेपन कायम राख्ने षड्यन्त्र हुँदै आएको छ । तराईका जिल्लामा आपसी सद्भाव बिग्रिएकै कारण गाउँ त परै जाओस्, अझै सदरमुकाममा समेत उल्लेख्य विकास हुन सकेको छैन । तराईका जिल्लामा भ्रष्टाचार बढ्दो छ, जनतामा असन्तुष्टि चुलिएको छ ।

सदरमुकाम कमजोर हुँदै गइरहेका छन् । एउटा समुदायको मात्रै बढी बसोवास रहेको भद्रपुर, राजविराज, मलंगवा, गौर, कलैया, कृष्णनगर, तौलिहवाजस्ता स्थान विकासमा पछि परेका छन् । तर, तराईमा जहाँ मिश्रित बसोवास छ, ती ठाउँ भने तुलानात्मक रूपमा विकसित छन् ।

त्यसैले शान्ति, स्थायित्व र विकासका लागि संविधान कार्यान्वयनमार्फत हामी मुलुकलाई समृद्ध र विकसित बनाउन चाहिरहेका छौँ । तर, जसले मुलुकमा एकता, सद्भाव बिगारेर अस्थिरताभित्रै आफ्नो भविष्य देख्छ, प्रजातन्त्रलाई आफ्नो अनुकूल या समुदायअनुकूलमा बुझ्दै आएका छन्, उनीहरू एमालेविरुद्ध खनिएका छन् ।

अझ प्रस्ट शब्दमा भन्नुपर्दा तराई–मधेसका जमिनदार एमालेविरुद्ध खनिएका छन् । त्यसो त खुला सिमानाको फाइदा उठाउँदै भारतले सानासाना कुरामा पनि हस्तक्षेप गर्ने स्थिति छ । त्यसैले सबै गलत अभ्यास समाप्त गर्न, राष्ट्रिय एकता, सामाजिक सद्भावको अभिवृद्धि गर्न, संविधान कार्यान्वयनका निम्ति सकारात्मक उद्देश्यका साथ अभियान सञ्चालन गरिरहेको छ । यो अभियानमा तराई–मधेसमा बसोवास गर्ने लाखौँ दाजुभाइले उत्साहजनक सहभागिता जनाउनु हाम्रा लागि निकै खुसीको विषय हो ।

राजविराजमा हिंसाको अन्त्य

मधेसलाई अलग राष्ट्र बनाउनुपर्छ भन्ने मान्यता राख्नेहरू, तराई मधेसमा अलग राष्ट्रियता छ भन्नेहरू, संविधान जलाएर कार्यान्वयन हुन नदिई मुलुकलाई अस्थिरतामै धकेल्न चाहने तथा मुलुकलाई विभाजित गर्न चाहने तत्वले सप्तरीको राजविराजमा आयोजित एमालेको सभामा हिंसा भड्काएर बिथोल्न खोजेका थिए ।

किनकि एमाले ती सबै उद्देश्यविरुद्ध जनताबीच आफ्नो मत स्पष्ट पार्ने अभियानसहित परिचालित भएको थियो । एमालेलाई प्रजातन्त्रका नाममा हिंसा भड्काउने उद्देश्यले प्रेसर कुकर बम, सुतली बम, लाठी, भालासहित तर्साउन खोजियो, प्रवेश निषेध गर्न खोजियो, यसरी उनीहरू आफ्नो स्वार्थ सधैँभरि पूरा हुने ठानेर हिंसामा उत्रिए ।

शान्ति र स्थिरता उत्पन्न हुन नदिन ती तमाम काम भएका हुन् । अर्को, मधेसी मोर्चाले सधैँभरि अदृश्य शक्तिको मोहरा बनेर चरम सत्तालिप्सा देखाउँदै आएको सर्वविदितै छ । सोही कारण नाकाबन्दीपछि जतिसुकै चर्का कुरा गरे पनि तराईमा आन्दोलन उठ्न सकेन ।

मुख्य व्यापारिक सहर वीरगन्ज, भैरहवा, सुनबललगायत स्थान कारोबार घट्दै गइरहेको स्थितिमा मोर्चाले तराईमा आन्दोलनका लागि बाहना खोजिरहेको थियो । सप्तरीको राजविराजमा हिंसालाई मोहरा बनाएर उनीहरूले आन्दोलन उठान गर्ने प्रयास गरेका हुन् ।

संशोधनको विपक्षमा मधेसका जनता

मधेसी मोर्चाले दुई राष्ट्रियताको मान्यता राख्दै आएका कारण हामी कुनै पनि हालतमा संविधान संशोधन प्रस्तावलाई स्विकार्न सक्दैनौँ । किनभने दुई राष्ट्रियताको मान्यता र एकल जातीय पहिचान मुलुकका लागि निकै घातक छ, जसले मुलुकलाई साम्प्रदायिक विखण्डनतर्फ लैजान्छ । यी दुवै गलत मान्यता हुन् ।

त्यस्तै, हामी कुनै पनि हालतमा हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउन सक्दैनौँ । उनीहरूले वंशज र जन्मसिद्ध नागरिकबीचको भिन्नता बुझ्न छाडेका कारण हामी कुनै पनि हालतमा वंशजबीचको एकता चाहन्छौँ, उनीहरूबीच समानता हुन सक्दैन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले त १५ मिनेटका लागि कोही नेपाल आउँछ भने पनि वंशजका आधारमै नागरिकता दिनुपर्छ भन्दै आएका छन् । मोर्चाको त्यस्तो प्रस्तावलाई देशभक्त र स्वाभिमानी कुन मधेसी समुदायका नागरिकले स्वीकार गर्न सक्छ ?

यो नेपाललाई कहिले पनि समृद्धि र स्थिरताको दिशामा अघि बढ्न नदिने षड्यन्त्र हो । अरूले बोकाइदिएका यस्ता विचार बोकेर हिँड्ने र खालि गलत कुरा कहाँ भेटिन्छ, त्यसैलाई समाएर मधेसी जनताका नाममा राजनीति गर्न खोज्नेलाई देशभक्त र न्यायप्रेमी मधेसी जनताले परास्त गर्नैपर्छ । अन्यथा त्यस्तै विषाक्त विचारका कारण तराई–मधेसको जमिनदारी प्रथा, पछौटेपन, सामन्ती कुप्रथा कहिल्यै पनि अन्त्य हुने छैनन् भन्ने कुरालाई हामीले मनन गर्न जरुरी छ ।

२ नम्बर प्रदेशमा फेरि अभियान

हामी कुनै हालतमा साम्प्रदायिकता भड्किन दिँदैनौँ । मोर्चाले हिंसा भड्काउन अनेक प्रयास गरिरहँदा पनि हामीले संयमताका साथ मेची–काली अभियान चलाइरहेका छौँ, हामी यसैगरी उनीहरूलाई परास्त गर्छौं । एमाले हरेक ठाउँमा जान्छ । अहिले तीन दिन स्थगित गरेर हेटौंडाबाट अभियान सुरु गरी कञ्चनपुर हुँदै सुर्खेतमा अभियान समापन गर्दै छौँ । त्यसलगत्तै हामी एकता र समृद्धिका पक्षमा २ नम्बर प्रदेशमा फेरि पनि अभियान लिएर जान्छौँ । बिथोल्ने शक्तिलाई परास्त गरी छाड्छौँ । अभियानका बारेमा सरसल्लाह गरिरहेका छौँ । चुनाव हुन्छ, सरकारले गर्नुपर्छ, संविधान कार्यान्वयन रोक्ने शक्तिलाई परास्त गर्नु नै अहिलेको प्रमुख आवश्यकता हो । नयाँ पत्रिकाबाट