मनोरञ्जन

फिल्म ‘हिम्मतवाली’को हिरो मानव तस्करीका नाइके



साउन १२, काठमाडौँ । फिल्म ‘हिम्मतवाली’को अभिनेता सुदर्शन गौतम नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गिरोहका नाइके रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

क्यानाडा निवासी उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उनलाई नेपाल झिकाउन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) लाई समेत पत्राचार गरिसकेको छ ।

तीन युवतीलाई अमेरिका लैजाने भन्दै हाइटी पुर्‍याएर उनले अलपत्र बनाएको र त्यसमध्ये एक युवतीको समुन्द्रमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यहाँबाट उद्दार भएर नेपाल फर्किएकी एक युवतीको उजुरीका आधारमा प्रहरीले गौतमविरुद्ध मुद्दा दर्ता गरेको हो ।

सुदर्शन रामेछापमा जन्मिएका क्यानाडाका नागरिक हुन् । उनले क्यानडाकै नागरिकको हैसियतले सगरमाथा आरोहण गरेका थिए । दुवै हात नभए पनि सगरमाथा आरोहण गरेको विश्वकीर्तिमान उनको नाममा छ ।

१३ वर्षको हुँदा ०५१ मा घरको छतमा रड लिएर खेल्दै गर्दा रड बिजुलीको तारमा छोइएपछि उनी दुर्घटनामा परेका थिए । त्यसपछि उनका दुवै हात काटिएका हुन् । खुट्टाले लेखेर एसएलसी उत्तीर्ण गरेका उनी गाडी पनि खुट्टैले चलाउँछन् ।

क्यानाडा सरकारले ‘मोटिभेसनल गेस्ट स्पिकर’ को रूपमा त्यहाँको संस्थामा बोल्न बोलाएपछि श्रीमती अम्बिका हमालसहित उनी सन् २००५ मा क्यानाडा गएका थिए । क्यानाडामा उनको रेस्टुरेन्ट व्यवसाय छ ।