सम्पादकीय

चोरीको सामग्री राखिएका थप दुई स्टोर फेला



ट्याक्सी, भ्यान र मोटरसाइकल प्रयोग गरी चोरी गर्ने गिरोहले चोरीका सामग्री राख्न प्रयोग गरिएका थप दुई स्टोर फेला परेको छ । प्रहरीका अनुसार कमलपोखरीस्थित दुईवटा घरमा चोरीका सामग्री राख्ने स्टोर फेला परेका हुन् ।

फेला परेको दुवै स्टोर गत सोमबार पक्राउ परेका रामेछाप सुनपाती–५ का ओमराज श्रेष्ठ, भारत मोतिहारीका पारस प्रदास र सोही स्थानका सन्तोष पोद्दारको रहेको प्रहरीले जनाएको छ । स्टोरमा विशेषगरी हार्डवेयरका सामग्री फेला परेका छन् ।

स्टोरमा एक करोड रुपैयाँभन्दा धेरै मूल्यका सामग्री फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए । उनले भने, ‘दुवै स्टोर भरिभराउ छन् । स्टोरमा विशेषगरी हार्डवेयरका सामग्री धेरै छन् । एउटा स्टोरमा कम्तीमा पनि ५० लाख रुपैयाँ बराबरको सामग्री होला । दुवै स्टोरको जोड्दा एक करोड रुपैयाँभन्दा धेरैको सामग्री छन् । स्टोर गरिएको घर भव्य देखिन्छ । अनुसन्धान हुँदैछ ।’

उनीहरूकै बयानका क्रममा नयाँ स्टोर भेटिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख डिएसपी फणिन्द्र प्रसाईले बताए । उनले भने, ‘उनीहरूलाई एक साताअघि पक्राउ ग-यौँ । प्रहरी कार्यालयमा पीडितको लर्को लाग्यो । गम्भीर अनुसन्धान भयो । यस क्रममा उनीहरूको अन्त पनि स्टोर रहेको सूचना प्राप्त भयो । भेरिफाई गर्दा सूचना सत्य रहेको पाइयो । अन्यत्र पनि स्टोर हुन सक्छन् । थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीले यसअघि उनीहरूको नयाँ बानेश्वरस्थित उत्तमकृष्ण कर्माचार्यको घरमा चोरीका सामग्री लुकाउने स्टोर फेला परेको थियो । उक्त स्टोमा मात्रै उनीहरूले ७० लाख मूल्यबराबरको सामग्री लुकाइराखेका थिए । उनीहरू बस्दै आएको डेरा खनतलासी गर्दा विभिन्न ब्रान्डका ४० बोरा धारा र साढे नौ केजी चाँदी बरामद भएको थियो । उनीहरू चार वर्षदेखि कर्माचार्यको घरमा फ्ल्याट भाडा लिएर बस्दै आएका थिए ।

चोरी गरी ल्याएको सामग्री उनीहरू सोही फ्ल्याटमा स्टोर गर्थे । सुन र चाँदीको गहना भारत लगेर बिक्री गर्थे । धाराका सामग्री भने काठमाडौंकै हार्डवेयर पसलमा लगेर बिक्री गर्थे । सामग्री चोरी गर्न उनीहरूले बा.१ ज ११९२ नम्बरको ट्याक्सी, बा.१४ च ७६६९ नम्बरको मारुती भ्यान र बा.८० प १५४० नम्बरको मोटरसाइकल प्रयोग गर्थे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।