विश्व

इन्डोनेसियामा बाढीले ७३ को मृत्यु, ६० जना वेपत्ता



एजेन्सी, ४ चैत । इन्डोनेसियामा आएको बाढीले कम्तीमा ७३ जनाको मृत्यु भएको छ भने ६० जना बेपत्ता भएका छन् ।

पूर्वी प्रान्त पपुआमा शनिबार साँझबाट सुरु भएको भीषण वर्षाले बाढी आएको र कैयन हताहत भएको बीबीसीले जनाएको छ । रोएटर्सले सेन्तानीमा मात्रै कम्तीमा ५१ जनाको ज्यान गएको जनाएको छ । बाढीले प्रान्तीय राजधानी जयपुरामै ७ जनाको ज्यान लिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएअनुसार, १ सय घरमा क्षति पुगेको छ । लगातारको वर्षाले बाढीको खतरा बढेपछि जोखिमयुक्त स्थानका बासिन्दालाई सरकारले सुरक्षित स्थान रोज्न भनेको छ । करिब ४ हजारले बासस्थान छाडेर सुरक्षित स्थान रोजिसकेका छन् । यसरी सुरक्षित स्थान रोजेका कतिपयलाई सरकारी अड्डाहरुमा आश्रय दिइएको छ ।

बाढीग्रस्त क्षेत्रमा कैयन हताहती भएको अनुमान गरिएको छ । बाढीले पुल तथा सडकहरु भत्किँदा उद्धारकर्ताहरू बाढीग्रस्त क्षेत्रमा पुग्न असुविधा झेलिरहेको बीबीसीले जनाएको छ । उक्त क्षेत्रहरुमा सिर्जित प्रतिकूलताका कारण उद्धार टोली पुग्न सकेको छैन ।