राजनीति

सीके राज्यको मुल धारमा : पार्टीको नाम ‘जनमत पार्टी’



सिरहा, ४ चैत । पृथकतावादी आन्दोलनबाट राज्यको मूल धारमा आई डा. सिके राउतले आफ्नो पुरानो पार्टीको नाम परिवर्तन गर्दै पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ ।

‘स्वतन्त्र मधेस गठबन्धन’ का नाममा सक्रिय रहेको समुहले सिरहामा सम्पन्न पार्टीको राष्ट्रिय परिषद् बैठकबाट पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो । पार्टीका केन्द्रीय सदस्य अब्दुल खानका अनुसार पार्टीको अध्यक्ष सीके राउत चयन भएका छन् भने पार्टीको केन्द्रीय कमिटी ३५ सदस्यीय रहनेछ ।

पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको छ । यस्तै चुनाव चिन्हमा ‘अष्टदल’ राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको पनि खानले जानकारी दिए । आयोगमा दर्ता भएपछि हाल कायम रहेको केन्द्रीय समिति थप विस्तार गरिनेछ ।

दुई साताअघि सरकारसँग ११ बुँदे समझदारी भएपछि सीके राउत मुलधारको राजनीतिमा आएका थिए । सरकारसँग सहमतिपछि राउतको यो पहिलो औपचारिक बैठक हो ।