राजनीति

अध्यक्ष पौडेलद्वारा आफ्ना कार्यकर्तालाई तत्काल उद्धार, राहत तथा रगत संकलनमा खट्न निर्देशन



काठमाडौँ, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युुवा संगठन युवा संघ नेपालका अध्यक्ष समेत पौडेलले आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई आइतवार आएको विनासकारी हावाहुरीका कारण भएको मानविय तथा भौतिक क्षती प्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतमा तदारुपताका साथ खट्न निर्देशन दिनुभएको छ ।

तराईको बारा, पर्सा लगायतका जिल्लाहरुमा आएको विनासकारी हावाहुरीले ठूलो जनधनको क्षती भएको भन्दै सहयोग नै मानिसको धर्म भन्ने कुरालाई आत्मसात् गर्दै मानविय सहयोगको लागि आफ्नो संगठनमा आवद्ध सम्पूर्णलाई अहोरात्र खट्न निर्देशन दिनुभएको छ ।

उहाँले तत्काल उद्धारको साथमा राहत सामग्रीको व्यवस्था गर्नुपर्ने भन्दै सम्बन्धीत निकायलाई चाँडो व्यवस्था गरि मानविय रक्षाको गर्न अपिल समेत गर्नुभएको छ । उहाँले राहतको साथमा घाइतेको उपचार तथा मृत्युभएका परिवारलाई क्षतीपूर्तीको व्यवस्था गर्न सरकारसँग माग समेत गर्नुभएको छ ।

उहाँले घाइतेको उपचारको लागि उक्त स्थानमा रगतको कमि हुन थालेको बताउँदै आफ्नो नता तथा कार्यकर्तालाई रगतको व्यवस्थापनमा लाग्न समेत निर्देशन दिनुभएको छ । उहाँले यस दुःखद् घडिमा खटिने तथा नखटिने आफ्ना नेता तथा कार्यकर्ताको काम कारवाही मूल्याङ्कन समेत हुने भएकाले उद्धार तथा राहतमा नखटिनेलाई कारवाही समेत गर्ने चेतावनी दिनुभएको छ ।

उहाँले बारा, पर्सा, चितवन लगायतका जिल्लाहरुमा रहनुभएका सम्पूर्ण युवा संघका नेता तथा कार्यकर्तालाई घटनास्थलमा तुरुन्त गई उद्धारमा खट्न समेत निर्देशन दिनुभएको छ ।

उहाँले हाल सम्म ३१ जनाको मृत्यु भइसकेको र करिव ५०० भन्दा बढी घाइते भएको भन्दै मृतकका परिवारलाई तत्काल क्षतीपूर्ति तथा घाइतेलाई उपचारको व्यवस्थामा कुनै कन्जुस्याई नगर्न आग्रह गर्नुभएको छ । उहाँले अझै पनि उक्त स्थानमा उद्धारका कार्यहरु निरन्तर रुपमा भइरहेको भन्दै सम्पूर्ण सरकारी, गैरसरकारी, सम्बन्धीत निकाय तथा युवा जनशक्तिलाई तदारुपताका साथ उद्धारमा लाग्नलाई आग्रह समेत गर्नुभएको छ ।