राजनीति

दुःख तथा सुखमा हाँसेर बस्ने विश्वमा कोही छ भने, त्यो नेपाली हो : सांसद बस्नेत



काठमाडौँ, १९ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालीमा अतिथि देव भवः भन्ने आख्यानलाई आत्मसात् गर्दै दुःख तथा सुखमा हासेर बस्न सक्ने कोही भए त्यो एकमात्र नेपाली भएको बताउनुभएको छ ।

काठमाडौँमा ॐकार टेलिभिजनको सुभारम्भ कार्यक्रममा बोल्दै सांसद बस्नेतले आफुसँग भए पनि नभए पनि पाहुनालाई सत्कार गर्ने विशेषता रहेको बताउँदै असल शिक्षा, संस्कार, समाजको निर्माण गर्दै विकसित र समृद्ध देश बनाउनु वर्तमान समयको माग रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘त्यो मानिसको मात्र जीवन सार्थक जसले बाँच्ने भन्दा साँच्ने काम बढि गर्छ ।’ सामाजिक सद्भाव, राष्ट्रिय एकता, धार्मिक एकता, भौगोलिक विविधता रहेको अनुपम देश नेपाल भएको बताउँदै उहाँले मानिसको मनोविज्ञानका माध्यमबाट समाजलाई रुपान्तरण गर्न सकिने बताउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले मानविय क्रियाशिलता अहिलेको आवश्यकता रहेको बताउँदै मानविय संस्कारलाई बचाई राख्न गरिव तथा दिन दुःखीको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय निजी कमाउने नाममा सम्पत्तीको मोह बढि हुने गरेको बताउँदै व्यक्तिगत स्वार्थ भन्दा माथि उठी राष्ट्रियताको पक्षमा सवै नेपाली एक भई अघि बढ्नुपर्ने बताउनुभयो ।

सम्भयता, संस्कृति र पहिचानलाई बचाउनु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले मानिसको नैतिकतालाई सूचना प्रविधिले खेल्ने भूमिका मूख्य हुने बताउनुभयो । उहाँले मिडियाले सचेतनामूलक तथा खोजमूलक जानकारी आम नेपाली जनतालाई सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय केही मिडिया तथा सामाजिक सञ्जालमा विभिन्न प्रकारका विकृति तथा विसंगतिहरु हुने गरेको जसलाई नियन्त्रण गर्नु अहिलेको अपरिहार्यता भएको बताउनुभयो ।

अपराधिक मनोविज्ञानको विकास केही मात्रामा भइरहेको बताउँदै सांसद बस्नेतले कहि कतै छिटफुट रुपमा मानविय संवेदनमा विर्सिएका अपराधिक घटनाहरु घट्ने गरेको र त्यसलाई वर्तमान सरकारले कडाईका साथ कानुनी दायरामा ल्याइरको र आगामी दिनमा क्रमिक रुपमा न्युनिकरण हुने बताउनुभयो ।