राजनीति

बाहिरी चक्रपथले यो आर्थिक वर्षमा बजेट नपाउने : आयोजना अन्यौलमा



काठमाडौँ, ६ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा बाहिरी चक्रपथ निर्माण आयोजनालाई रकम विनियोजन नगर्ने भएसँगै उक्त आयोजना नै अन्यौलमा परेको छ ।

आइतबार विकास तथा प्रविधि समितिमा बोल्दै शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले १२ वर्ष पुरानो सम्भाब्यता अध्ययनको आधारमा अहिले आयोजना अगाडि बढाउन नसकिने बताउनुभयो । उहाँले बाहिरी चक्रपथ निर्माण गर्ने सरकारको नीति यथावत रहे पनि आगामी आवको बजेटमा भने नपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जोखिम मोलेर आयोजना शुरु गरी मलाई जेल जानु छैन, यो आयोजना अगाडि बढाउन अब अर्थ मन्त्रालयको भूमिका महत्वपूर्ण हुन्छ ।’ मन्त्री राई ७१.९३ किलोमिटर लामो बाहिरी चक्रपथ निर्माणमा चिनियाँ कम्पनीले चासो दिए पनि लागत फिर्ता गर्ने ग्यारेन्टी नभएसम्म निर्माण थाल्न नसकिने बताउनुभयो ।

आयोजना कार्यान्वयन गर्न २ खर्ब १३ अर्ब रुपैयाँ लाग्ने अनुमान मन्त्रालयले गरेको छ । यो आयोजना जग्गा एकीकरण ‘ल्याण्ड पुलिङ प्रणाली’ मार्फत अगाडि बढाउने योजना छ । सरकारले गत वर्ष नै पहिलो चरणमा निर्माण हुने चोभार–गाम्चा–सतुंगल क्षेत्रको ६ दशमलव ६ किलोमिटर खण्डको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गरेको थियो । तर, जग्गा एकीकरणमा समस्या देखिएपछि आयोजना अगाडि बढ्न सकेको छैन ।

विकास तथा पूर्वाधार समिति सभापति कल्याणी खड्काले यो आयोजना केवल काठमाडौं उपत्यकाको मात्र नभई देशभरका नागरिकलाई असर पार्ने आयोजना भएकाले जति खर्च लागे पनि कार्यान्वयनमा जानु पर्ने बताउनुभयो । समितिले बाहिरी चक्रपथ निर्माण आयोजना बजेटभन्दा बाहिर राख्न नहुने भन्दै त्यस्तो व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।