स्वास्थ्य

बर्ड फ्लुको नमुना परीक्षणका लागी १७९ जनाको नमुना संकलन गरी जापान पठाइयो



नेपालबाट बर्ड फ्लु (एच५ एन१)को परीक्षणका लागि एक सय ७९ जनाको घाँटीको र्‍याल (थ्रोट स्वाब) नमुना संकलन गरी जापान पठाइएको छ ।

नेपालमा बर्ड फ्लु (एच५ एन१) बाट एकजनाको मृत्युभएपछि उनको उपचारमा संलग्न डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा उनको नजिक रहेका एक सय ७९ जनाको नमुना संकलन गरी परीक्षणका लागि जापान पठाइएको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा गत सोमबार नमुना पठाएको हो ।

बर्ड फ्लुबाट मृत्यु भएका व्यक्तिको नेपाल मेडिकल कलेजको शिक्षण अस्पताल र ओम अस्पतालमा उपचार भएको थियो । काभ्रे घर भई भक्तपुर बस्दै आएका २१ वर्षिया युवाको गत चैत १५ मा उपचारका क्रममा मृत्यु भएको थियो ।

युवकको मृत्यु लगत्तै विश्व स्वास्थ्य संगठन, फुड एन्ड एग्रिकल्चर अर्गानाइजेसन, वल्र्ड फुड प्रोगाम, नेपालका चिकित्सक सहित ३५ जनाको टोलीले यो विषयमा अध्ययन अनुसन्धान गरिरहेका छन् ।