Banner News

स्थानीय तहमा दातृ निकायले आफूखुशी काम गर्न पाउँदैनन् : मन्त्री पण्डित



काठमाडौँ, ६ असार । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा दातृ निकायले आफूखुशी कार्यक्रम सञ्चालन गर्न नपाउने बताउनुभएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको ‘स्थानीय तहको क्षमता अभिवृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै उहाँले भन्नुभयो, “दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अभिमुखीकरणसँग जोडिएर कुनै पनि कार्यक्रम गर्दा प्रादेशिक तथा स्थानीय तह क्षमता विकास कार्यक्रमसँग समन्वय गरेर मात्र काम गर्नुपर्दछ ।”

मन्त्री पण्डितले स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिको क्षमता बढाउनका लागि निरन्तर सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले सङ्घीयता कार्यान्वयनको चरणमा शुरु शुरुको बेलामा काममा अप्ठ्यारा भए पनि अहिले भने कानून र कर्मचारी पुगेकाले सजिलो भएको उल्लेख गर्नुभयो ।

उहाँले स्थानीय तहले आफूसँग भएको अधिकार पर्याप्त प्रयोग नगर्दा अहिले काम नदेखिएको भन्दै अधिकार प्रयोग गरी परिमाण ल्याउने गरी काम गर्नुपर्ने बताउनुभयो ।