राजनीति

शिक्षा क्षेत्र जागीर खाएर बस्ने ठाउँ होइन, सक्षम नयाँ पुस्ता बनाउने ठाउँ हो : मन्त्री पोखरेल



भक्तपुर, ९ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्र जागीर खाएर बस्ने ठाउँ नभइ सक्षम नयाँ पुस्ता बनाउने ठाउँ  रहेको बताएका छन ।

सोमबार भक्तपुर चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छाडेर ठाउँ खाली गरिदिन आग्रह गरेका छन ।

उनले भने, ‘शिक्षा क्षेत्र जागीर खाएर बस्ने ठाउँ होइन, यो सक्षम नयाँ पुस्ता बनाउने र भोलिको देश बनाउने ठाउँ हो, अबको सार्वजनिक शिक्षा प्रभावकारी हुनुपर्छ, कक्षाकोठामा प्रभावकारी शिक्षण सिकाइ गर्नुस्, पढाउन सक्दिन भन्ने लाग्छ भने ठाउँ खाली गरिदिनुस्, नयाँ पुस्ता आउँछन्’ ।

नेपालको शिक्षा प्रणाली अझैपनि घोकन्ते विद्यामै सीमिति रहेको बताउदै उनले भने, ‘एउटा विद्यार्थीलाई कक्षा कोठामा वर्षभरि घोकाउने र तीन घण्टाको परीक्षामा सीमित गरेर मूल्याङ्कन गर्ने शिक्षा प्रणाली नै गलत छ ।’

मन्त्री पोखरेलले विद्यार्थीको क्षमताको पहिचान गरेर शिक्षकले पढाउनुपर्ने बताउदै उनले शिक्षकले अधिकार मात्रै खोज्ने नभई कक्षाकोठाको सिकाइ उपलब्धि वृद्धि गर्नुपर्ने बताए  ।