राजनीति

पछि हटे पार्टी नै सकिन्छ : नेता थापा



काठमाडौँ, १० असार । नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४ औ महाधिवेशन नभए कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नु पर्ने भन्दै महाधिवेशनबाट पछि नहट्न पार्टी सभापतिको ध्यानाकर्षण गराएका छन् ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता थापाले विधानमा नभएको कुरा नियमले परिर्वतन गर्न नपाइने भन्दै महाधिवेशनबाट पार्टी नेतृत्व पछि हट्न नमिल्ने तर्क गरे । उनले महाधिवेशन नगरि फेरि पनि भागवण्डा गरेर अन्तरिम संगठन बनाउने काम भए पार्टीले सबैभन्दा ठूलो घाटा व्यहोर्नुपर्ने चेतावनी समेत दिए ।

उनले भने, ‘विधानमा यो गर्ने भनेर टुंगो लगाएको कुरालाई अहिले नियमले चेन्ज गर्न पाउँदैनौं । म सुन्दैछु नियममा चेन्ज गर्ने कुरा हुँदैछ । त्यो चेन्ज गर्ने भनेको अधिवेशन पनि नगर्ने। अन्तरिम संगठन बनाउने तर कसरी बनाउने भने काठमाडौंमा बसेर छान्ने, भागवण्डा गरेर बनाउने रु यो भन्दा घाटा पार्टीको लागि अरु केही पनि हुँदैन । यो पार्टीका निम्ति प्रत्युत्पादक छ । यो गर्न पाइँदैन। यो गर्ने अधिकार पार्टी सभापतिलाई छैन । वरिष्ठ नेतालाई पनि छैन ।’

नेता थापाले सम्पूर्ण कार्यकर्ताहरु महाधिवेशनमा जानुपर्नेमा भए पनि नेतृत्व नै महाधिवेशन नगराउने पक्षमा देखिएको दाबी गरे । उनले संघीय संरचना अनुसार पार्टीको तल्लो निकाय अहिलेसम्म गठन हुन नसक्नुले परिर्वतनलाई नेतृत्वले आत्मसाथ गर्न नसकेको स्पष्ट देखिएको टिप्पणी गरे । उनले वर्तमान परिवेशमा शक्तिशाली कम्युनिस्ट सरकारका गलत हर्कतको प्रतिकार गर्नका लागि मजबुत, सुदृढ र जीवन्त कांग्रेसको आवश्यकता भएको र त्यो महाधिवेशबाट मात्रै संभव हुने तर्क गरे । यो खबर आजको नागरिक दैनिकमा छ ।