राजनीति

एकआपसमा दोषारोपण नगरी समीक्षा गरौँ : सभामुख महरा



काठमाडौँ, १६ असार । सभामुख कृष्णबहादुर महराले विगतको कमी कमजोरीलाई लिएर एकआपसमा दोषारोपण नगरी समीक्षा गर्न आग्रह  गरेका छन ।

सोमबार पूर्वसांसद मञ्च, नेपालद्वारा ६१औँ संसद् दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख महराले लोकतन्त्र र गणतन्त्रका लागि योगदान गरेका दलबीचको अन्तरविरोधमा कोही खेल्न नसकोस् भनेर सचेत भएर अघि बढाउनुपर्ने बताएका छन् ।

विगतको अनुभवबाट वर्तमानको चुनौतीलाई पार लगाउँदै अनुकूल र सम्भावनायुक्त भविष्यको मार्ग सुनिश्चित गरेर अघि बढ्न सक्नुपर्ने बताउदै उनले भने ‘विगतको कमी कमजोरीलाई लिएर एकआपसमा दोषारोपण गर्ने होइन, कसको कारणले संसदीय अभ्यास धरापमा परेको हो, त्यसको समीक्षा गरौँ ।’

अवसरमा मञ्चद्वारा वार्षिकरुपमा प्रकाशित बुलेटिनको चौथो अङ्क लोकार्पण गरिएको थियो । मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पहिलोपटक २०१५ सालमा भएको संसदीय निर्वाचनमा विजयी भएका सांसदले शपथ लिएको दिन असार १६ गतेलाई संसद् दिवसका रुपमा मनाउने गरिएको छ ।