समाचार

मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ



रौतहट, ३ भदौ । रौतहटबाट मोटरसाइकल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साउन ३१ गते राती २ बजे वृन्दावन नपा-३ का सोनालाल प्रसाद यादवको ना४६प २२८२ नम्बरको २२० सिसीको कालो रंगको पल्सर मोटरसाइकल चोरी भएको थियो ।

चोरिएका मोटरसाइकल बाराको कोलहवीमा स्वरुप परिवर्तन गर्ने ग्यारेज पनि फेला पारेको छ । चार दिनअघि रौतहटको चन्द्रनिगाहपुरबाट चोरी भएको एउटा मोटरसाइकलको खोजी गर्दै जाँदा रौतहट प्रहरीले तीन जनाको गिरोहलाई पक्राउ गरेको हो ।

सोही घटनाबारे जिल्ला प्रहरी कार्यालय गौरमा दिएको जानकारी र बिषेश सूचनाको आधारमा घटनाको साउन ३२ गते खटिएको अपराध अनुसन्धान टोली र स्थानीय प्रहरीको सहयोगमा बाराको कोलहवी-९ श्रीपुरस्थित एउटा ग्यारेजमा छापा मारेको थियो ।

छापा मार्ने क्रममा ग्यारेजमा मोटरसाइकलको पार्टपुर्जा परिवर्तन गर्ने रौतहट फतुआ विजयपुर-११ का १९ वर्षीय कमल चौधरी, सोही ठाँउका २३ वर्षीय अरुण चौधरी र २७ वर्षीय अकिलेश चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाटस्वरुप परिवर्तन गरिएको एउटा मोटरसाइकल र अन्य मोटरसाइकलको विभिन्न पार्टपुर्जा बरामद भएको छ ।

उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याउने र मोटरसाइकलको स्वरुप परिवर्तन गरी नक्कली भारतीय नम्बर बनाएर बेच्ने गरेको खुलेको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।