Banner News

मन्त्रालयको हरेक गतिविधि सामाजिक सञ्जालमार्फत जानकारी दिन मन्त्री भट्टराईको निर्देशन



काठमाडौँ, ४ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको हरेक गतिविधि दैनिक रुपमा मन्त्रालयको आधिकारिक सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमार्फत, युट्युवलगायतका सामाजिक सञ्जालको माध्यमबाट जानकारी दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालय र मन्त्रालयअन्तर्गतका विभाग तथा निकायहरुमा कार्यरत सूचना अधिकारी, प्रवक्ता एवं सामाजिक सञ्जाल हेर्ने अधिकृतहरुसँग छलफलरअन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले अन्तर्गतका निकायलाई सामाजिक सञ्जालमा सक्रिय हुन निर्देशन दिनुभएको हो ।

मन्त्री भट्टराईले दिएका निर्देशनहरु

१. मन्त्रालय तथा मन्त्रालयअन्तर्गतका निकायहरुले दिनभर कार्यसम्पादन भएका प्रमुख विषयहरुलाई कार्यालय समय सकिनासाथ प्रेस विज्ञप्ति (भिडियो, फोटो राखी) वेबसाइट, फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमार्फत आवश्यकताअनुसार सार्वजनिक गर्ने ।

२. मन्त्रालय तथा अन्तर्गतका सबै निकायहरुले अनिवार्य रुपमा युट्यूब खोली भिडियोमार्फत आफ्ना गतिविधिहरु सम्प्रेषण गर्ने ।

३. मन्त्रालय तथा अन्तर्गतका निकायहरुले सामाजिक सञ्जालमा विशेष समूह बनाइ सूचनाहरु आदानप्रदान गर्ने ।

४. मन्त्रालय एवं अन्तर्गतका निकायहरुका सोसल मिडिया फोकल पर्सनहरुले प्रत्येक दिन सम्वन्धित निकायहरुको वेबसाइट, फेसबुक, ट्विटर, युट्यूब, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालका माध्यमहरु भिजिट तथा अपडेट गर्ने साथै भिजिटर बढाउन विभिन्न उपायहरु अवलम्वन गर्ने ।

५. मन्त्रालय एवं अन्तर्गतका निकायहरुले अनिवार्य रुपमा सामाजिक सञ्जालका एकाउण्ट भेरिफाई गर्ने ।

६. मन्त्रालय मातहतका सबै निकायहरुका सामाजिक सञ्जालहरुमा फेक एकाउण्ट भए तुरुन्त बन्द गराउन प्रक्रिया अघि बढाउने ।

७. मन्त्रालय र मातहतका सबै निकायका प्रचार सामग्री तथा सामाजिक सञ्जाल र वेबसाइटहरुमा नेपाल भ्रमण वर्ष, २०२० लाई मुख्य रुपमा प्रचार-प्रसार गर्ने ।

८. एक महिनापछि पुनस् समीक्षा बैठक गर्ने । उक्त बैठकमा सबै निकायले आफ्नो तर्फबाट गरिएका कार्यको प्रगति विवरण पेश गर्ने । मन्त्रालयबाट निरन्तर अनुगमन गर्ने ।

९. मन्त्रालय मातहतका सबै निकायहरुमा प्रवक्ता एवं सूचना अधिकारी तोक्नु पर्ने व्यवस्था भएकोमा तोक्न वाँकी रहेका निकायहरुमा समेत तत्काल प्रवक्ता एवं सूचना अधिकारी तोक्ने ।