Banner News

संविधान दिवसका दिन सरकारले विदा पिकनिक जान र रमाईलो गर्न दिएको होइनः मन्त्री बास्कोटा



काठमाडौं, ११ भदौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ–आफ्नो स्थानबाट योगदान दिन आम नेपालीलाई आग्रह गर्नुभएको छ ।

दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले संचार मन्त्रालयमा गरेको छलफलमा मन्त्री बाँस्कोटाले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपुर्ण सहभागिताको अपेक्षा गरिएको बताउनु भयो । संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै बर्ग र क्षेत्रको सहभागीता हुनुपर्ने उहाँले जोड दिनु भयो ।

त्यो दिन तास खेल्न, पिकनिक जन, बियर खानका निम्ति, गर्लफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति बिदा दिइएको होइन, फाइनल कुरा यही हो, सिधा सिधा, राष्ट्रिय दिवस नै मनाउन दिएको हो,’ सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो ।

मन्त्री बास्कोटाले दिवसलाई कर्मकाण्डी भन्दा भिन्न रुपमा सबै बर्ग विशेषको सहभागिता हुने गरी हर्षोल्लासपुर्ण रुपमा मनाउनका लागि सिर्जनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि आग्रह गर्नुभयो ।