स्वास्थ्य

ट्यांकरको भन्दा पनि खराब जारको पानी



नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले विभिन्न समयमा गरेको अध्ययनबाट काठमाडौँमा ट्यांकरको पानीभन्दा जारको पानी असुरक्षित रहेको खुलेको छ ।

उक्त अध्ययनले ट्यांकरको पानीमा भन्दा जारको पानीमा धेरै कोलिफर्म ब्याक्टेरिया हुने गरेको देखाएको हो । गत वर्ष नास्टको वातावरण तथा मौसम अध्ययन प्रयोगशालाको लागि सुजन महर्जन, टिस्टा प्रसाईं जोशी, सुजनमान श्रेष्ठको टोलीले गरेको अध्ययनले यस्तो देखाएको हो ।

अध्ययनले सूक्ष्म जीववैज्ञानिक दृष्टिले हेर्दा काठमाडौं उपत्यकामा उपभोग हुने पानीको ६६ प्रतिशत प्रदूषित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । नमुना संकलन गरिएको पानी मध्ये ९२ प्रतिशत जारको पानीमा, ७७ प्रतिशत ट्यांकरको पानीमा, ६९ प्रतिशत प्रशोधित पानी र २० प्रतिशत बोटलको पानीमा तोकिएको मापदण्डभन्दा धेरै क्लोरिर्फम भेटिएको हो ।