विचार/ब्लग

प्रधानमन्त्रीको राजीनामा माग्ने यो समय उपयुक्त होइन कमरेड



उपेन्द्र केसी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्र संकसमा पारिएको छ । प्रधानमन्त्रीबाट उनलाई हटाउन महिनौ पहिले देखि खेलिदै आएको गुप्तखेलहरु अहिले सतहमा देखिन थालेकोछ । प्रधानमन्त्री एकलौटीढंगले चलेको, पार्टीको संस्थागत निर्णय अनुसार नहिडेको लगायतका मुद्धाहरु उठाएर उनीमाथि निर्मम अक्रमण गरिएको छ । तस्कर र माफियाहरुको तारो बन्दै आएका प्रधानमन्त्रीमाथि पछिल्लो समय पार्टीभित्रबाट किन संकट पारिदैछ त्यो भने बुझन सकिएको छैन् ।

मुलुक एक महिना भन्दा लामोसमयदेखि लकडाउनमा छ । यो समय पार्टीले सरकारलाई सघाउनु पर्ने हो । पार्टी र सरकार दुवै मिलेरै प्रतिकुल अवस्थाको सामना गर्नु पर्ने हो । तर, विडम्वना पार्टी भित्रैबाट सरकारलाई चलमलाउन समेत नदिने गरी हातखुट्टा बाध्नेकाम भैराखेको छ । उनीहरु जसरी भए पनि सरकारलाई असफल पार्न चाहन्छन् । र,देशलाई अस्थिरतातर्फ धकेल्न चाहन्छन भन्ने कुरा विपक्षी दलका नेता–कार्यकताका अघि लाजैलाग्ने गरी छरपष्ट भैसकेको छ ।

लकडाउनको बेला प्रधानमन्त्रीले अध्यादेश ल्याउँदा यो उपयुक्त समय होइन, भनेर प्रधानमन्त्रीलाई पछि हट्न वाध्य बनाईयो । प्रधानमन्त्रीले पार्टीभित्र विरोध भएपछि त्यसलाई फिर्ता लिए । लकडाउनका बेला प्रधानमन्त्रीले अध्यादेश ल्याउँदा यो समय उपयुक्त होइन भनेर विरोध गर्दै कोलाहल मच्याउनेहरुले अब भन्नु प¥यो– के प्रधानमन्त्रीलाई राजीनामा दिन चौतर्फि घेराबन्दी गर्ने चाही यो उपयुक्त समय हो ? के आफूले जे गर्दा पनि ठिक अर्कोले त्यही काम कुरा गरे बेठिक हुने हो? यस्तो प्रवृति र चिन्तनमा रमाउनु भनेको रोगी मानिसिकताको उपज मात्रै हो । यो समय हामी सबै कोरानो विरुद्ध लड्नु पर्ने हो। कोराना विरुद्ध लडिरहेको सरकारसंग होइन् ।

कोरानाका कारण देशको अर्थतन्त्र ओरालो लाग्ने निश्चिित छ । ओरालो लागेको अर्थतन्त्रलाई कसरी उठाउने भन्ने विषयमा नेकपाको सचिवालयको एजेण्डा बन्नु पर्ने थियो । पर्यटन,कुषि र होटल व्यवसायलाई परिवर्तित समयमा कसरी अघि बढाउने विषय नेकपाका शीर्ष नेताहरुबीच छलफल र केन्द्रित हुनु पथ्यो । ज्याला–मजदुरी गरी खाने विपन्व परिवारलाई भोकै नराख्नका लागि सचिवालयको बैठकमा ऐजेण्डाको सूची बन्नु पथ्यो । लकडाउनका कारण गाउँ फर्किएका युवाहरुलाई अब गाउँमै रोजगारीका नयाँ–नयाँ अवसरहरु सिर्जना कसरी गर्ने भन्ने विषयमा नेताहरु छलफलमा केन्द्रित हुनु पथ्यो । तर,यी सबै एजेण्डालाई छोडी काम कुरा एकतिर कुम्लोबोकि ठिमितिर भने झै दुनियाँलाई रमिता देखाउँदै कम्युनिष्ट पार्टीका नेताहरु यो बेलामा पनि राजनीतिका स्वार्थका रोटीहरु सेकिरहेका छन् । र,सरकार परिवर्तन गर्ने खेलखेलेर देशलाई अस्थिरतातर्फ धकेल्न उभ्रिरहेका छन् ।

प्रधानमन्त्री केपी ओलीलाई ५ वर्षका लागि जनताले जनादेश दिएको हो । प्रधानमन्त्रीका रुपमा उनी सफल वा असफल भनेर केरकार गर्ने अधिकार पनि तिनै जनता कै हो । त्यसैले पार्टीका सचिवालयको बैठकमा अंक गणितका जोडघटाउको खेल खल्दै प्रधानमन्त्रीलाई राजीनामा दिन वाध्य पार्नु हुँदैन् । त्यसो गर्नु भनेको नेपाली जनताले दिएको जनादेशमाथिको घोर अपमान गर्नु हो । त्यो लोकतान्त्रिक चरित्र र संस्कार पनि होइन ।

यसो भनिरहदा प्रधानमन्त्रीले सबै राम्रा गरेका छन् । उनी पार्टीको विधानभन्दा माथि छन् । पार्टीको निर्णय प्रधानमन्त्रीले मान्नै पर्दैन भन्न खोजेको चाँही होइन् । काम गदैजानेक्रमा प्रधानमन्त्रीबाट कमीकमजोरीहरु भएका छन्। कतिपय सन्दर्भमा पार्टी एकातिर प्रधानमन्त्री अर्कोतिर जस्तो पनि देखिएको छ । प्रधानमन्त्रीले पनि आफ्नो कतिपय कमीकमजोरीहरुलाईं आउँदा दिनमा सच्चाएर जानैपर्छ । मैले जे गरे ठिक गरे भन्ने हिसावले जानु हुँदैन् । पछिल्लो समय प्रधानमन्त्री त्यसरी हिड्न खोजेको पनि देखिएको छ ।

पार्टीले अध्यादेश फिर्ता लिई भन्यो,अध्यादेश फिर्ता पनि भयो । अर्को कुरा के पनि सत्य हो भने सकरकारले गरेका वा गर्न थालेका कतिपय कामहरुलाई पार्टीले पनि सहयोग र समर्थन गरेको देखिएको छैन् । आउने दिनमा सबै खाले कमीकमजोरीहरुलाई नेताहरुले सच्चाएर अघि बढ्ने हो भने मात्रै नेकपाको भविष्य सुरक्षित हुनेछ । र, देशलाई अस्थितातर्फ जानबाट रोकिने छ । देशलाई अस्थिरतातर्फ लैजाने हो कि, समृद्धिको यात्रातर्फ लाने लाने हो नेताहरुकै हातमा गाडीको साँचो छ । हामी त यति मात्रै भन्न सक्छौ –प्रधानमन्त्रीको राजीनामा माग्ने यो समय उपयुक्त होइन कमरेड ।